पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो
लिस्बन – करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाको शव समुद्रमा भेटिएको छ ।
नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो ।
सिलवालको शव करिब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।
उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको भए पनि शवको पहिचान भने बिहीबारमात्रै खुलेपछि प्रहरीले खबर गरेको अधिकारीले बताए ।
सिलवालको शव राजधानी लिस्बन नजिकै पर्ने पासो डि आर्कोसस्थित समुद्रमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको अधिकारीले बताए । उनको शव कासकाइसस्थित अस्पतालको शवगृहमा राखिएको छ ।
सो घटनाका विषयमा उनको परिवारलाई जानकारी गराइएको र परिवारले शव नेपाल पठाइदिन आग्रह गरेको अधिकारीले बताए । बेपत्ता भएका सिलवालको खोजीकार्यका लागि संघले यहाँको प्रहरी प्रशासनलाई खबर गर्नुका साथै ठाउँठाउँमा उनको फोटोसहितको पोस्टरसमेत टाँसेको थियो ।
सिलवाल वैदेशिक रोजगारीको सिलसिलामा सात वर्षअघि पोर्चुगल आएका थिए । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका थिए ।