बुधबार, मंसिर १२, २०८१
02:28 | ०८:१३

युरोपमा झन्डै ५० लाख यूक्रेनी शरणार्थी

रासस-एएफपी जुन ९, २०२२

युद्धपीडित युक्रेनी । तस्बिर एएफपी

जेनेभा, २५ जेठ-रूसले चार महिना पहिले आक्रमण सुरु गरेदेखि नै युरोपभर झण्डै ५० लाख युक्रेनी शरणार्थीको रूपमा दर्ता भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ ।

संयुक्त राष्ट्र शरणार्थी निकाय युएनएचसिआरले भनेको छ, “युक्रेन युद्धले विश्वकै सबैभन्दा ठूलो मानव विस्थापन संकट निम्त्याएको छ ।”

युक्रेनी स्थितिको बारेमा एजेन्सीको डेटा पोर्टलमा अद्यावधिक तथ्यांकले युद्धग्रस्त यूक्रेनबाट कूल ४८ लाख १६ हजार ९२३ युक्रेनी शरणार्थीको रूपमा दर्ता भएको देखाएको छ ।

युएनएचसिआरको तथ्यांकले यूक्रेनबाट ७३ लाखभन्दा बढी व्यक्ति जून ७ सम्ममा सीमा पार गरेको रेकर्ड गरिएको छ । उक्त तथ्यांकले देखाएअनुसार अर्को २३ लाखभन्दा बढी मानिस स्वदेश फिर्ता भएका छन् ।

विदेश पलायन भएकामध्ये ९० प्रतिशत महिला र बालबालिका रहेको राष्ट्रसंघले बताएको छ । १८ देखि ६० वर्ष उमेर समूहका पुरुष सैनिक सेवाका लागि योग्य छन् र त्यहाँबाट जान सक्दैनन् ।

युक्रेनबाट भागेकाहरूबाहेक संयुक्त राष्ट्रसंघको अन्तरराष्ट्रिय बसाइँ सराइ संगठनले अनुमान गरेअनुसार ८० लाखभन्दा बढी मानिस यस आक्रमणसँगै स्वदेशमा नै विस्थापित भएका छन् ।

युक्रेनबाट बाहिर निस्केका आधाभन्दा बढी छिमेकी पोल्याण्डमा आएका छन् । पोल्याण्डमा ३८ लाख मानिसहरूले शरण लिएकोमा झण्डै आधा व्यक्ति स्वदेश फर्किएका छन् ।

युएनएचसिआरले पोल्याण्डमा ११ लाख ५० हजार युक्रेनीले शरणार्थीको रूपमा नाम दर्ता गरेको बतायो । पोल्याण्डबाहेक हंगेरी, रोमानिया, स्लोभाकिया र मोल्डोभाजस्ता अन्य छिमेकी देशहरूमा पनि सयौं हजार मानिसहरू प्रवेश गरेका छन् । ती प्रत्येक देशमा हजारौंले शरणार्थीले शरणार्थीका लागि आवेदन दिएका छन् ।

युरोपका अन्य देशहरू, जर्मनीमा झन्डै सात लाख ८० हजार, चेक गणतन्त्रमा झन्डै तीन लाख ६७ हजार र स्पेनमा एक लाख १८ भन्दा बढी युक्रेनीले शरणार्थीका रूपमा आवेदन दिएका छन् । अन्य युरोपेली देशहरूमा पनि हजारौं शरणार्थीले निवेदन दर्ता गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू