बिहीबार, माघ ३, २०८१
02:56 | ०८:४१

लन्डनमा आयोजित गणतन्त्र दिवसमा मन्त्री कार्कीको सम्बोधन

नेपाली लिङ्क मे ३०, २०२२

लन्डन । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की बेलायतका नेपालीहरुले आयोजना गरेको गणतन्त्र दिवस कार्यक्रममा सहभागी भएका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति बेलायतले लन्डनको फेलथाममा गरेको कार्यक्रममा प्रमुख आतिथि रहेका मन्त्री कार्कीले अहिले नेपालमा प्रदेश सरकारको औचित्यको विषयमा अनावश्यक बखेडा झिक्ने कामको शुरु भएको बताए ।

प्रदेशस्थित सरकारले नै सबैभन्दा चाँडो जनता समक्ष पुगेर सेवा प्रवाह गर्न सक्ने उनको भनाई थियो ।

‘स्वीट्जरल्याण्डमा १५ हजार जनसंख्या भएका प्रदेश छन् । आजको बिहारको परिवर्तन प्रदेश सरकारकै पहलमा सम्भव भएको हो’, कार्कीले भने, ‘प्रदेश सरकारले सबैभन्दा चाँडो सेवा दिन सक्छ । प्रदेशमा राम्रो गरेकै कारण भारतको गुजरात राज्यका मुख्यमन्त्री नरेन्द्र मोदी देशकै प्रधानमन्त्री बन्नुभयो ।’

विदेशमा बस्ने भारतीयकै कारण त्यहाँ विकास नयाँ चरणमा प्रवेश गरेजस्तै विदेशमा बस्ने नेपाली (एनआरएन) ले राम्रो काम गरिदिए नेपाल पनि विकासको नयाँ चरणमा प्रवेश गर्नसक्ने मन्त्री कार्कीको भनाइ छ ।

‘नागरिकतालगायत समस्याका लागि अधिकार प्राप्त व्यक्ति नभएपनि अभियन्ताको रुपमा काम गर्न सक्छु । यहाँका नेपालीले देश जाँदा बौद्धिक सम्पत्ति पनि साथै लिएर जान्छन् । त्यसको फाइदा नेपालले उठाउन सक्छ’, उनले भने, ‘सन्ततिले बाहुबाजेको देश जान पाउने र उनीहरुले बनाएको देश हो भन्ने भावना विकास गर्नुपर्छ । स्वदेशमा बसेकाले त्यो वातावरण बनाउनु पर्छ ।’

नेपालको विकास र समृद्धिका लागि विदेशमा बस्ने नेपाली (एनआरएन) ले ठूलो सहयोग गर्न सक्ने मन्त्री कार्कीको भनाइ थियो । कार्यक्रममा एनआरएनका केन्द्रीय अध्यक्ष कुल आचार्यलाई सम्मान गरिएको थियो ।

सो अवसरमा जनसम्पर्क समितिका सभापति युवराज गुरुङ, विश्वआदर्श पण्डित, कांग्रेस महाधिवेशन प्रतिनिधि महेश दाहाल, प्रेस युनियन बेलायतका सभापति विपिन निरौला, काउन्सिलर प्रवेश केसीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा जनसम्पर्क समितिका उपाध्यक्ष रिचार्ड गुरुङ, एनआरएनए यूके पूर्व उपाध्यक्ष रोजिना प्रधान राई, उपसभापति सुभाष राईलगायत सहभागी थिए । कार्यक्रम महामन्त्री कुस बस्नेतले सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू