एफएनजे यूकेमा एकता, अर्यालको नेतृत्वमा बेलायतका पत्रकारहरु एकबद्ध
लन्डन- नेपाल पत्रकार महासंघ यूकेभित्रको विवाद अन्त्य भएको छ। गत वर्ष सम्पन्न शाखाको पांचौं अधिवेशनपछि देखिंदै आएका असन्तुष्टिहरुलाई सम्बोधन गर्दै सहमति निर्माण गरिएको छ ।
चार बुंदे सहमतिपत्रमा शाखाका अध्यक्ष ध्रुवराज अर्याल र असन्तुष्ट समूहका तर्फबाट विपिन निरौलाले हस्ताक्षर गरेका छन्।
शाखाको ध्रुवराज अर्याल नेतृत्वको कार्यसमितिलाई एकताबद्ध रुपमा सहयोग गर्ने, विपिन निरौला नेतृत्वका समितिका सबै गतिविधि बन्द गर्ने र निरौला शाखाको पूर्व अध्यक्षको मर्यादाक्रममा रहने सहमति भएको छ ।
सहमतिअनुसार शाखाको सल्लाहकारमा निवर्तमान महासचिव संजयभक्त कंडेल, निवर्तमान सचिव डा. जगन कार्की, एभरेष्ट गौतम, बिमला लिम्बू र कर्मा पहाडी शेर्पालाई मनोनयन गरिने छ र सदस्यता नभएकाहरुको हकमा शाखाले प्रकृया पूरा गरेर सदस्यता प्रदान गरिनेछ।
शाखामा नवीन पोखरेल, भगीरथ योगी, चिरन शर्मा, नरेश खपांगीमगर, विपिन निरौला, श्याम लुईटेल र विमला सेने रहेको एक संरक्षकमण्डल रहने व्यवस्था गरिनेछ । त्यस्तै, शाखामा नयाँ सदस्यता खुला गर्ने र निरौलाको सिफारिसमा कम्तिमा सकृय पत्रकारिता गरिरहेका ६ जनालाई शाखाको नियमअनुरुप सदस्यता दिइनेछ । कार्यसमितिमा ठाउँ खाली भएमा निरौलाको सिफारिसमा योग्यता पुगेका व्यक्तिमध्येबाट तीन जना सदस्यहरु थप्ने सहमति पनि गरिएको छ।
शाखाका अध्यक्ष ध्रुवराज अर्यालले संस्थाको विधान र प्रक्रियामै रहेर असन्तुष्टिहरुको सम्बोधन गर्ने गरी सहमति खोज्ने प्रयास गरिएको बताए। सहमति निर्माणका लागि भूमिका निर्वाह गर्ने सबै पक्षप्रति धन्यवाद दिंदै अध्यक्ष अर्यालले शाखालाई थप एकताबद्ध र सहभागितामुलक बनाउँदै अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
त्यस्तै, प्रस्तावित संरक्षक विपिन निरौलाले पनि शाखाको एकतालाई महत्व दिंदै सहमति गरिएको बताएका छन् । उनले सबैबाट सहमतिको पूर्ण कार्यान्वयन हुने आशा पनि व्यक्त गरेका छन्।