भिसी थापाको प्रतिमामा मन्त्री पौडेलले गरे माल्यार्पण
लन्डन । नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र राज पौडेलले प्रथम भिक्टोरिया क्रस (भिसी) पदक विजेता भूतपूर्व गोर्खा कुलवीर थापाको अल्डरसटस्थित प्रतिमामा माल्यार्पण गरेका छन् ।
शिक्षा सम्बन्धि कार्यक्रममा बेलायत आएका मन्त्री पौडेलले बुधबार २५ मेका दिन अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा भिसी थापाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।
सो अवसरमा उनका पीए राजेन पौडेल, गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङ, बेलायतस्थित नेपाली जन प्रगतिशील मञ्च यूकेका मान बहादुर गुरुङलगायत गोर्खा परिवारको सहभागिता थियो ।
प्रथम भिसी थापाले बेलायती सेनामा रहँदा देखाएको वीरता र साहसको कदर गर्दै बेलायत सरकारले उनलाई भिसी पदकद्वारा सम्मान गरेको थियो ।
हालसम्म १३ जना गोर्खा भिसी पदकद्वारा सम्मानित भइसकेका छन् भने कुलवीर पहिलो भिसी पदक विजेता हुन् ।
बेलायतमा भूतपूर्व गोर्खाहरुले खेलेको भूमिका र दिएको योगदानलाई जिउँदो राख्नुपर्छ भन्ने उद्देश्य अनुरुप प्रतिमा निर्माण गरिएको हो ।
नेपालीहरुको बाक्लो बसोबास रहेको सैनिक शहरका रुपमा परिचित अल्डरसट र फार्नबोरो क्षेत्रमा क्रियाशिल ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) को पहल, स्थानीय रसमोर बरो काउन्सिलको स्वीकृति, बेलायतस्थित गोर्खा भूतपूर्व सैनिक र नेपाली संघसंस्था, उद्यमी, व्यापारी, भूतपूर्व गोर्खा परिवारलगायत स्थानीयको आर्थिक सहयोगमा उक्त प्रतिमा गत वर्ष निर्माण गरिएको थियो ।