बिहीबार, माघ ३, २०८१
04:43 | १०:२८

एनआरएनए नागरिकता र भूपू गोर्खा माग चांडै टुंगो लाग्छ- मन्त्री पौडेल

नेपाली लिङ्क मे २७, २०२२

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल

लण्डन । बेलायत भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बेलायतवासी नेपाली र विदेशी विज्ञबाट धेरै सिकेको बताएका छन् ।

मन्त्री पौडेल  एजुकेशन वर्ल्ड फोरमले लण्डनमा आयोजना गरेको एक अन्तरराष्ट्रिय शिक्षा सम्मेलनमा भाग लिन बेलायत आएका छन् ।

१२० देशका प्रतिनिधि सहभागी सो कार्यक्रमबाट गुणस्तरीय शिक्षा र कोभिड महामारीका कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, समस्या र समाधानबारे छलफल भएको पौडेलले बताए । ‘बेलायत भ्रमणका क्रममा विभिन्न देशका शिक्षा मन्त्रीहरुसंग भेटघाट गर्ने अवसर मिल्यो, शिक्षण विधि र गुणस्तरीय शिक्षाबारे धेरै कुरा आदानप्रदान भएको छ ।

शिक्षा क्षेत्रमा लगानी, सहयोग र सम्भावनाबारे प्रस्ताव राख्ने अवसर प्राप्त भयो, यो निकै सकारात्मक कुरा हो’ मन्त्री पौडेलले भने । अन्य देशका शिक्षा सम्बन्धि नीतिहरु कसरी अघि बढेका रहेछन् भन्ने विषयमा अध्ययन र छलफल गर्ने अवसर मिलेको बताउंदै मन्त्री पौडेलले यसलाई नेपालमा कसरी लागू गर्न सकिन्छ भन्ने बारेमा आफ्नो तर्फबाट पहल गर्ने बताए ।

‘बेलायत बसाइका क्रममा गैरआवासीय नेपाली संघ, विभिन्न संघसंस्था, भूपू गोर्खा लगायत नेपाली र नेपालीमूलका मानिसहरुसंग पनि भेटघाट र अन्तरक्रिया गर्ने अवसर मिल्यो, नेपालको प्रगति, बेलायत नेपाल सम्बन्ध र बेलायतवासी नेपालीका हक हित र अधिकार सम्बन्धि धेरै कुरा भएका छन्’, उनले भने ‘यसबाट नेपाल र नेपाली जनताले धेरै कुरा सिक्ने अवसर पाउनेछन् नेपाल फ़र्किएपछि सम्बन्धित क्षेत्रबाट कार्यान्वयनको पहल गर्नेछु ।

’ गैरआवासीय नेपाली संघ बेलायतले राखेको पाँच बुंदे ज्ञापनपत्रबारे बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसंग आफूले कुरा गरिसकेको र नेपाल फर्किएपछि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसंग पनि छलफल गर्ने पौडेलले बताए । ‘गैर आवासीय नेपालीहरुले राखेका विभिन्न मागमध्ये करेन्सी सम्बन्धमा करिब करिब टुंगो लागिसकेको छ, नागरिकता सम्बन्धि विषयमा यसै सदनबाट टुंगो लाग्नेगरी प्रक्रिया अगाडि बढेको छ’, उनले भने ।

भूपू गोर्खा वार्ताबारे रुस र युक्रेन युद्धका कारण वार्ता समिति गठनमा ढिलाइ भइरहेको र यसलाई छिटो भन्दा छिटो सहमतिका आधारमा टुंगो लगाउन पहल गर्ने उनले बताए ।

भूपू गोर्खा र गैर आवासीय नेपाली संघसंगको भेटघाटले धेरै कुरा प्रत्यक्ष रुपमा जान्ने अवसर मिलेको र यसबाट आफूलाई पहल गर्न थप सहज भएको पौडेलले बताए ।

मन्त्री पौडेल आफ्नो साताव्यापी भ्रमण पूरा गरि आज शुक्रबार साँझ नेपाल फर्किंदै छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू