बालबालिकाको सुरक्षामा ध्यान दिन युनिसेफको आग्रह
संयुक्त राष्ट्रसंघ –संयुक्त राष्ट्रसंघीय बालकोष, युनिसेफले बालबालिकाको सुरक्षामा ध्यान दिन अमेरिकी सरकार र यहाँका नेताहरुलाई आग्रह गरेको छ । सो कोषका कार्यकारी निर्देशक क्याथेरिन रसेलले अमेरिकामा बालबालिका विद्यालयमै असुरक्षित बन्दै गएको भन्दै उनीहरुको सुरक्षामा ध्यान दिन आग्रह गरेकी हुन् ।
उनले प्रश्न गरेकी छन्– ‘अझै कति बालबालिकाले अकालमा यसरी ज्यान गुमाउनुपर्ने हो ? आफ्नै विद्यालयमा बालबालिका यसरी असुरक्षित हुन्छन् भने बालबालिकाको भविष्य के होला ?’
अमेरिकाको टेक्सासस्थित एक एलिमेन्टरी स्कुलमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएपछि उनको यो भनाई आएको हो ।
अमेरिकी सहर टेक्सासमा मंगलबार दिउँसो भएको सो दुःखद घटनामा परी १८ जना बालबालिकासहित २१ जना मारिएका थिए भने अरु कैयौँ घाइते भएका थिए ।
टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना १८ वर्षीय किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको हो ।
गोली लागेर अरु १३ बालबालिका, विद्यालयका कर्मचारी र केही प्रहरी पनि घाइते भएका समाचारमा जनाइएको छ ।
कार्यकारी निर्देशक क्याथेरिनले भनेकी छन्– ‘आज यो दुर्घटना टेक्सासमा भयो, अब फेरि अर्काे कहाँ होला भन्ने त्रास हाम्रो दिमागमा छ ।’
उनले यस्तै दर्दनाक अवस्था अफगानिस्तान, युक्रेनलगायतका देशमा पनि देखिसकेका छौँ भन्दै अब बालबालिकाको सुरक्षाका लागि केही गर्न ढिला भइसकेको बताइन् ।