बिहीबार, माघ ३, २०८१
02:51 | ०८:३६

लन्डनमा मन्त्री कार्कीको सम्बोधनः अब बुद्धबारे भ्रम सकियो

नेपाली लिङ्क मे २३, २०२२

लन्डन । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले भगवान गौतम बुद्धको जन्मस्थानबारे रहेका सबै भ्रम अब अन्त्य भएको बताएका छन् ।

आइतबार सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा आयोजित बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले भने, ‘यस पटकको बुद्ध जयन्ती केवल जन्म जयन्तीको निरन्तरता मात्र होइन । अझ यो लन्डनको मुटु मात्र होइन्, विश्वकै मुटुमा हामी विजय उत्सव पनि मनाइरहेका छौं ।’

बुद्ध पूर्णिमाका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जन्मस्थल लुम्बिनी आएर पूजा र ध्यान गरि बुद्ध नेपाल मै जन्मिएको सन्देश दिनुलाई मन्त्री कार्कीले अन्त्यहीन लडाईं जितेको रुपमा उल्लेख गरे ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुद्ध जन्मभूमिमा भारतीय प्रधानमन्त्रीको उपस्थित र मन्तव्यले हामी गौरवान्वित भएका छौं । विश्वका कतिपय पर्यटकहरुमा बुद्ध भारतमा जन्मिएको भन्ने भ्रम अब हटेको छ’-मन्त्री कार्कीले भने, ‘हामीले प्रधानमन्त्रीको शारिरीक कमजोरीको कुरा धेरै लेख्यौं । स्थानीय निर्वाचनबारे लेख्यौं तर देशले विजय प्राप्त गरेको खुशीयाली सांट्न बिर्सियौं । प्रधानमन्त्रीको सकारात्मक सफलताबारे अनभिज्ञ 
रहनु र देशले विजय गरेको कुरा महत्व नदिनु बिडम्बना रहयो ।’

मन्त्री कार्कीले विदेशमा बसेका नेपालीहरुलाई महिना को एक दिन देशका लागि बुद्धको दूत बनिदिन पनि आग्रह गरे ।

बुद्ध फाउन्डेसन यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए आइसीसीसमेतको सहकार्यमा लन्डनको ट्राफल्गर स्क्वायरमा गरेको बुद्धजयन्ती कार्यक्रमको यो पाँचौं संस्करण हो ।

फाउण्डेशनका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी शिक्षा मन्त्री देवेन्द्र पौडेल, विशेष अतिथी बेलायत का लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्य, गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, पर्यटन दूत महन्त श्रेष्ठ, नेपालबाट आएका ‘वल्र्ड पिस सेन्टर’ का संस्थापक स्याल्पा तेन्जिङ रिम्पोचे एवं अन्य विभिन्न व्यक्ति तथा कूटनीतिज्ञहरूले सम्बोधन गरेका थिए ।

सो अवसरमा भारत, श्रीलंका, थाइल्यान्ड लगायत विभिन्न देशका राजदूत र ब्रिटिश काउन्सिलरहरुको समेत उपस्थित थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू