शुक्रबार, मंसिर १४, २०८१
16:51 | २२:३६

पोखराको प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङको अग्रता कायमै

रासस मे २१, २०२२

गठबन्धनका धनराज आचार्य र एमालेकी मञ्जुदेवी गुरुङ

पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सवैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का प्रमुख उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन् ।

पोखरामा शनिबार दिउँसो २:३० बजेसम्म ८५ हजार १५७ मतगणना सकिएकामा आचार्यले ३४ हजार ३३६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्ण थापाले ३० हजार ९४९ मतसहित पछ्याइरेका छन् । प्रमुखमा आचार्य र थापाको मतान्तर तीन हजार ३८७ छ ।

पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । त्यस्तै प्रमुखमा राप्रपाका शंकर खरालले तीन हजार ८३५ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले दुई हजार ३३५ मत प्राप्त गरेका छन् ।

यसैगरी महानगरको उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले ४६५ मतले अग्रता बनाएकी छन् । गुरुङले ३५ हजार ३१२ मत प्राप्त गर्दा कांग्रेसका कोपिला रानाभाटले ३४ हजार ८४७ मत ल्याएकी छन् । गणनाको सुरुआतदेखि अग्रता बनाएकी रानाभाट शुक्रबार रातिदेखि गणनामा पछि परेकी हुन् ।

पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १९ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले १५ वडामा जित हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ ।

गत वैशाख ३१ गतेदेखि मतगणना सुरु भएकामा हालसम्म कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको हो । एमाले वडा नं १, ५, ६, ८ र वडा नं २० मा विजयी भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू