शुक्रबार, मंसिर १४, २०८१
16:26 | २२:११

संसद्मा एमालेको विरोध शैली परिवर्तन

रासस मे १७, २०२२

प्रतिनिधि सभाको बैठकमा उपस्थित सांसदहरु । तस्बिर- प्रदीपराज वन्त, रासस

काठमाडौं । संघीय संसद्को एघारौँ अधिवेशन प्रारम्भ भएको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकको प्रारम्भ मै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले एमालेका सांसद प्रदीप ज्ञवालीलाई बोल्न समय दिएका थिए । उनले सम्बोधन गर्दै सदनमा आफ्नो पार्टीले लगातार विरोध गर्नुको कारणबारे बताए ।

उनले मुलुक स्थानीय तहको निर्वाचनपछि नयाँ कोर्षमा गएकाले एमालेले संसद्मा गर्दै आएको विरोधलाई आजदेखि नयाँ स्वरुपमा परिवर्तन गरेको जानकारी गराए । एमालेले आफ्नो पार्टीले कारबाही गरेको १४ सांसदको कारबाहीको सूचना टाँस गर्नुपर्नेलगायत माग राखी अघिल्लो अधिवेशनदेखि निरन्तर बैठक अवरोध गर्दै आएको थियो ।

ज्ञवालीले आफ्ना सांसदलाई कारबाही गरिएको सम्बन्धित मुद्दाको फैसला गर्न अदालतले गरेको ढिलाइप्रतिसमेत असन्तुष्टि जनाए । उक्त विषयमा आफ्नो अडान यथावत रहेको उनको भनाइ थियो ।

उनले मुलुकको वर्तमान आर्थिक संकटका बारेमा आफ्नो पार्टी निकै चिन्तित रहेको बताउँदै सबै मिलेर समाधानमा पहल गर्न सरकारलाई आग्रह गरे । त्यसका लागि नयाँ ढंगको वहस र सोच आवश्यक रहेको उल्लेख गर्दै ज्ञवालीले एमालेले त्यसबारेमा संसद्मा आवाज उठाउने बताए ।

स्थानीय तहको निर्वाचनमा सत्ता पक्षबाट आचारसंहिता उल्लंघन भएको आरोप लगाउँदै सांसद ज्ञवालीले सुरक्षा निकाय र कर्मचारीतर्फबाट आफूलाई सहयोग नभएको टिप्पणी गरे । निर्वाचनमा आफ्नो पार्टीलाई चौतर्फी घेराबन्दी पारिएको बताउँदै उनले सत्ताको दुरुपयोग भएको आरोपसमेत लगाए ।

त्यसैगरी सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पनि पढेर सुनाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू