शुक्रबार, मंसिर १४, २०८१
16:50 | २२:३५

बालेन चार हजार ८७७ मतले अगाडि

रासस मे १७, २०२२

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले ११ हजार ४२ मत प्राप्त गर्दा केशव स्थापितले ६ हजार १६५ मत प्राप्त गरेका छन् ।

स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को तर्फबाट प्रमुखमै उम्मेदवारी दिएका स्थापितलाई ४ हजार ८७७ पछि पार्दै आफ्नो अग्रता कायम राखेका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले पाँच हजार ३८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

उपप्रमुख पदमा एमालेका तर्फबाट सुनिता डंगोल ११ हजार ४८५ मतले अग्रस्थानमा छिन् ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले दुई हजार ७८४ मत प्राप्त गरेका छन् । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ३, ४, ५, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।

वडा नं १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् ।

कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू