बुधबार, मंसिर १२, २०८१
10:39 | १६:२४

होटल विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुग्यो

रासस-एएफपी मे ७, २०२२

तस्बिर एपी

हवाना, २४ बैशाख- हवानाको मध्य क्षेत्रमा रहेको एउटा सुविधा सम्पन्न होटलमा शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।

घटनामा एक स्पेनी पर्यटकसहित २५ जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले शनिबार जनाएको छ । ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

होटलको स्वामित्वमा रहेको कम्पनीका प्रमुख गाभिओटाका रोबर्टो काल्जाडिल्लाका अनुसार ग्याँस ट्यांकर भरिरहेका समय विस्फोट भएको थियो । विष्फोट हुँदा होटलभित्र कर्मचारीहरु यसको पूनर्निर्माण पछिको पुनःस्थापनाको तयारीमा रहेको बताइएको छ । उक्त होटेल आगामी मंगलबारबाट औपचारिकरूपमा पुनः सञ्चालनको तयारी गरिएको थियो ।

उद्धारकर्ताहरूले प्रतिष्ठित सारातोगा होटेलका बाँकी रहेका स्थानमा अझै पनि बाँचेकाहरूको खोजी जारी राखेका छन् ।

घटना स्थानीय समय अनुसार शुक्रबार अधिकारीहरुले विस्फोटमा ५० जनासम्म घाइते भएको हुनसक्ने बताएका थिए ।

“स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले ट्वीटरमा भनेका छन्, “क्युबामा भएको भयानक दुर्घटनामा एक स्पेनी पर्यटकको मृत्यु भएको छ भने अर्का एक स्पेनी नागरिक गम्भीर घाइते भएका छन् । उनीहरू सारातोगा होटलमा विस्फोट हुँदा त्यही होटेलमा रहेको पुष्टि भएको छ ।”

दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युवाली अधिकारीले बताएका क्युवाको उतm टेलिभिजन जानकारी गराएको छ ।

क्युबाका राष्ट्रपति मिगेल डियाज–क्यानेलले ट्वीट गर्दै भनेका छन्, “जे भयो, त्यो निकै दुःखको कुरा हो, खासगरी होटेलमा भएको भयानक विष्फोटमा मानवीय क्षति भएको र केही पाहुना र कामदार घाइते भएका छन् । घटनास्थलमा आवश्यक उद्धारका लागि खटिएका सबै उद्धारकर्मीलाई खोजीलाई थप तीब्रता दिन अनुरोध गर्दछु ।”

विस्फोटबाट होटेलको अघिल्तिरको ठूलो भाग भत्किएको टेलिभिजनद्वारा प्रसारित दृश्यचित्रमा देखिएको छ । विस्फोटका कारण होटेलका कैयौँ झ्यालहरू तथा होटेलबाहिर पार्क गरिएका गाडीहरूमा व्यापक क्षति भएको छ । उक्त घटनामा नजिकैको ब्याप्टिस्ट चर्चको गुम्बज पनि ढलेको छ ।

विष्फोटपछि एम्बुलेन्स र दमकलहरू तत्काल घटनास्थलमा पुगी प्रहरी र तालिमप्राप्त उद्धारकर्मीले त्यस इलाकालाई घेरा हाली उद्धार गरिएको थियो ।

राष्ट्रिय राजधानीमा रहेको उक्त होटेलको भवनमा क्युबा क्रान्ति अघि क्युवाको संसद थियो । सारातोगा होटलमा ९६ कोठा, दुई बार, दुई रेस्टुरेन्ट, स्पा र जिम छन् । सन् १८८० मा व्यापारिक भवनका रूपमा निर्माण गरिएको र संसदका लागि पनि प्रयोग गरिएको उक्त भवनलाई सन् १९३३ पछि होटेलमा परिणत गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू