बेलायतको स्थानीय निर्वाचनमा नेपाली मूलका उम्मेदवारलाई मिश्रित नतिजा
लन्डन- विहीबार सम्पन्न बेलायतको स्थानीय निर्वाचनको नतिजा आउन शुरु भएको छ । यसपटक चुनावी मैदानमा रहेका नेपाली मूलका उम्मेदवारहरुको नतिजा प्रारम्भिक रुपमा मिश्रित देखिएको छ ।
करिब एक दर्जन उम्मेदवारमध्ये अहिलेसम्म तीन जना विजयी भएका छन् भने दुई जना पराजित भएका छन् । अन्यको नतिजा आउन बाँकी छ ।
पूर्व गोर्खाहरुलाई सफलता
शुक्रबार बिहानसम्म प्राप्त मत परिणामअनुसार विभिन्न बरोबाट काउन्सिलरमा उम्मेदवार भूतपूर्व गोर्खाहरु विजयी भएका छन्। अहिलेसम्म हन्सलोका पूर्व मेयर विष्णुबहादुर गुरुङ लेबर पार्टीबाट तेस्रोपटक काउन्सिलर निर्वाचित भएका छन् ।
त्यस्तै, लन्डनको बार्नेट काउन्सिलका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट पुनः काउन्सिलर निर्वाचित भएका छन्।
बार्नेटकै बन्टोक वडाबाट लेबर पार्टीका कमल गुरुङ पहिलोपटक काउन्सिलर बनेका छन् । निर्वाचित तीनैजना पूर्व गोर्खा हुन् ।
भीम, सुमन र ज्ञानप्रसाद पराजित
रश्मोर बरोको चेरिवुड वडाबाट काउन्सिर उम्मेदवार सुमन पुन पराजित भइन् । त्यस्तै, ननिटनमा पहिलोपटक लेबर पार्टीबाट काउन्सिलर लडेका पूर्व गोर्खा भीम सारु पनि पराजित भए ।
उता स्वीन्डनमा पहिलोपटक लडेका कञ्जरभेटिभ पार्टीका उम्मेदवार ज्ञानप्रसाद गुरुङ पनि पराजित भएका छन् ।
नर्थयोर्कशायरको कोलबर्न काउन्टी काउन्सिलमा कञ्जरभेटिभ पार्टीका उम्मेदवार डा जगन्नाथ शर्मा, ग्रीनवीच बरोमा लेबर पार्टीबाट उम्मेदवार जीत रानाभाट र वाटफोर्डको हेलिवेल वडाबाट कञ्जरभेटिभ उम्मेदवार सञ्जय पन्तको भने नतिजा आउन बाँकी छ ।