बिहीबार, माघ ३, २०८१
08:53 | १४:३८

त्रिपक्षीय वार्ताको मिति मे अन्तिमसम्म तोकिने 
राजदूतको आश्वासन, आन्दोलन नगर्न आग्रह

नेपाली लिङ्क अप्रिल २९, २०२२

राजदूत ज्ञानचन्द्र आचार्य

लन्डन । बेलायत र नेपाल सरकार तथा भूतपूर्व गोर्खाहरुबीच गोर्खा मुद्दामा त्रिपक्षीय वार्ताको मिति मे अन्तिमसम्म तोकिने आश्वासन राजदूतले दिएका छन् ।
भूतपूर्व गोर्खा प्रतिनिधिहरुसंग शुक्रबार दूतावासमा भएको छलफलमा राजदूत ज्ञानचन्द्र आचार्यले मे अन्तिमसम्म वार्ताको मिति तोकिनेमा आफू विश्वस्त रहेको बताउंदै अहिले नै आन्दोलनका थप कार्यक्रम नगर्न भूतपूर्व गोर्खाहरुलाई अनुरोध गरेका बताइएको छ ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले वार्ताको मिति अहिलेसम्म नतोकिंदा गोर्खाहरुमा निरासा छाएको उल्लेख 
गर्दै युक्रेन रुस युद्धकै बहाना बनाएर लम्ब्याउने खेल भएको हो कि भन्ने आशंका व्यक्त गरेका थिए । राईले गोर्खाहरुको धैर्यताको बांध फुटे सशक्त आन्दोलनलाई कसैले रोक्न नसक्ने चेतावनी दिंदै प्राविधिक समितिकै प्रतिवेदन कार्यान्वयन आफूहरुको अडान भएको पनि स्मरण गराएका थिए ।

‘मैले बेलायत सरकारलाई नियमित रुपमा घच्घच्याइरहेको छु । यो एमओडीकोमात्र नभएर विदेश मन्त्रालय र अन्य सरकारी उच्च अधिकारीहरुको समेत सहभागितामा टिओआर बनाउनुपर्ने भएकाले समय लागेको हो । मलाई आशा छ मेसम्म वार्ताको मिति टुंगो लाग्छ’, राजदूत आचार्यको भनाइ उधृत गर्दै प्रमुख संयोजक राईले भने ।

नेपाल सरकारले राजदूत आचार्यको नेतृत्वमा वार्ता प्रक्रिया अगाढि बढाउने निर्णय गरेपनि बेलायतले अहिलेसम्म वार्ताको मिति सार्वजनिक नगरेपछि गोर्खाहरु सशंकित छन् ।

फाइल तस्बिर

गत अगष्टमा गोर्खा सत्याग्रह संघर्ष समितिको आह्वानमा अभियन्ताहरू ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले बेलायती प्रधानमन्त्रीको कार्यालयबाहिर आमरण अनशनमा थिए । १७ दिन रिले अनसन र भोक हड्तालको १३ दिनमा ब्रिटिस रक्षा मन्त्रालयले गोर्खा सैनिकहरुले उठाएका मुद्दाप्रति बेलायत सरकार सकारात्मक रहेको र द्विपक्षीय वार्ताबाट माग सम्बोधन गर्ने बताएपछि अनसन तोडिएको थियो ।

त्यसपछि तत्कालिन राजदूत लोकदर्शन रेग्मीले वार्ता प्रक्रिया अगाडि बढाइरहंदा नेपाल सरकारले उनलाई फिर्ता बोलाएपछि नयां राजदूत ज्ञानचन्द्र आचार्य नआइन्जेल रोकिएको वार्ता अझै रफ्तारमा बढ्न सकेको छैन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू