संयुक्त राष्ट्रसंघका महासचिव युक्रेनमा
कीभ–१५ बैशाख – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन पुगेका छन् । उनले सो कुरा ट्वीट गरेर जनाएका हुन् । उनले ट्वीटमा भनेका छन् – ‘म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु ।’
उनले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाबारे जानकारी लिनेछन् ।
राष्ट्रसंघीय महासचिव गुटेरसले युक्रेनमा रहँदा यहाँका द्धन्द्धग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताएका छन् । उनले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने जोड पनि ट्वीटमार्फत दिएका छन् ।
महासचिव गुटेरस एकदिन अघिमात्र रुस भ्रमणमा गएका थिए । त्यस भ्रमणका क्रममा उनले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताएका छन् ।
आइसीसीलाई सहयोग गर्न आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले बिहीबार रुसलाई युक्रेनमा आक्रमण गर्दा भएको सम्भावित युद्ध अपराधको अनुसन्धानमा अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसीसी) लाई सहयोग गर्न आग्रह गरेका छन् ।
‘म आइसीसीलाई पूर्ण समर्थन गर्दछु र रुसी संघलाई आइसीसीलाई सहयोग गर्न स्वीकार गर्न अपील गर्दछु । तर जब हामी युद्ध अपराधको बारेमा कुरा गर्छौं, हामी बिर्सन सक्दैनौं कि सबैभन्दा खराब अपराध भनेको युद्ध नै हो’, संयुक्त राष्ट्रसंघका प्रमुखले भ्रमणको क्रममा भनेका छन् ।