लन्डनमा गोर्खाहरुमाझ महावीर, सहयोग प्रतिबद्धता
पुनलाई ‘सन अफ गोर्खा’ को रुपमा स्वागत
लन्डन- बेलायत भ्रमणमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् समाजसेवी डा महावीर पुनलाई भूतपूर्व गोर्खाहरुले पनि स्वागत गरेका छन् । गोर्खा सत्याग्रह संघर्ष समितिले एक कार्यक्रमबीच पुनलाई ‘सन् अफ गोर्खा’ को रुपमा स्वागत तथा सम्मान गरेको छ ।
लन्डनस्थित ह्यारो फुटबल क्लबमा सोमबार दिउँसो आयोजित कार्यक्रममा गोर्खाहरुको तर्फबाट राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ।
कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा प्रमुख अतिथि डा पुनले सत्याग्रह समितिलाई धन्यवाद दिंदै विद्यार्थी जीवनमा आफूले भोगेको व्यथा, स्कुल पढ्न आफ्ना पिताले ऋण लिनुपरेको दयनीय अवस्था, गोर्खा परिवारमा गएको स्मरणदेखि अमेरिकामा पढ्दाको अनुभवसम्म सुनाए । अमेरिकाबाट गाउँ फर्किएर समाजमा आफूले गरेका गतिविधि र राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाबारे उनले जानकारी गराएका थिए ।
भूपू गोर्खा आन्दोलनमा आफ्नो तर्फबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग रहने पुनले बताए । हाल सैनिक सेवामा कार्यरत नयाँ पुस्तासँग पनि सहकार्य गरेर अगाडि बढ्न उनले सुझाएका थिए । भूपू गोर्खाको बारेमा आफू पूर्ण जानकार रहेको बताउंदै उनले गोर्खामाथि विभेद भएकोले यसको लागि निरन्तर अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भूपू गोर्खामाथि भएको अन्यायका बारेमा स्पष्ट पारेका थिए । आफ्ना सन्ततिको लागि शिक्षा लगायत उपलब्धिमूलक क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे ।
डा पुनको सपना साकार गर्न गोर्खाहरु समेत एकजुट हुने आश्वासन उनले दिए । धेरै गोर्खाहरुले नेपालको सम्पति बेचेर बेलायत ल्याउने गरेको बताउंदै उनले त्यसो नगरी स्वदेशमा नै लगानी गर्न उनले आग्रह गरे ।
गोर्खाहरुकै कारण वार्ता प्रक्रिया ढिलाई भएको राईले स्वीकार गरे । गत नोभेम्बरमा निर्धारित समयमा नै आफ्नो तर्फबाट वार्ता कमिटिको नाम दिइसकेको भएपनि तत्कालिन राजदूत नेपाल फिर्ता भएपछि पठाइएको नाममा गोर्खाहरुकै तर्फबाट मतभेद आएका कारण प्रक्रियामा थप ढिलाई भएको उनको धारणा थियो । नयाँ राजदूत नियुक्तिपछि प्रक्रिया अगाडि बढेको तर युक्रेन युद्धको बहानामा आफूहरुलाई झुलाउने प्रयास भएको राईले बताए ।
बेलायत सरकारले नेपाल सरकारलाई भ्रममा पारेर आफ्ना मागहरुलाई ओझेलमा पार्न चाहेको बताउंदै प्रमुख संयोजक राईले आफूहरु यसको विरुद्धमा डटेर लड्ने बताए ।
त्यस्तै, सत्याग्रह संघर्ष समितिका अभियन्ता ज्ञानराज राईले भूपू गोर्खाहरुको इतिहासदेखि वर्तमानसम्मको पीडा सुनाएका थिए । डा पुन पूर्व गोर्खाकै सन्तति भएको र ब्रिटिशहरुले गरेको भेदभावका कारण उनले जीवनमा ठूलो संघर्ष गर्नुपरेको उनले बताए।
आफ्ना विभिन्न १५ माग पूरा भए ९० प्रतिशत भूपू गोर्खाहरु नेपाल फर्किने बताउंदै उनले सबैले सबै किसिमका माग नपाए पनि एक व्यक्तिले कम्तिमा पनि तीन प्रकारका सुविधाहरु पाउने राईले बताए।
राईले गोर्खालीको शीर उच्च पार्न पुनले पुर्याएको योगदानलाई सहयोग गर्न ‘साम दाम दण्ड भेद’ नै प्रयोग गर्ने बताउंदै राष्ट्रको हितमा काम गर्ने आविष्कार केन्द्रका लागि गोर्खालीको तर्फबाट कोष जम्मा गर्ने बताए । साथै अन्य गोर्खाली संस्थाहरुसंग पनि सहयोगको कुरा भएको राईले बताए ।
करिब १५ हजार पेन्सनर, ६ हजार रिडन्डेन्सी र झन्डै ५ हजार एकल आमा रहेको राईले बताए । गोर्खालीहरुको विषयलाई समेट्ने गरि एउटा परियोजनाको परिकल्पना गर्न पनि राष्ट्रिय आविष्कार केन्द्रलाई उनले आग्रह गरेका छन् । भूपू गोर्खामाथि भएको अन्यायका कारण देशले ठूलो हिस्सामा विदेशी मुद्रा गुमाएको उनले प्रष्ट्याए ।
सचिव होम सुनुवारद्वारा सञ्चालित कार्यक्रममा ज्ञानराज राईले स्वागत मन्तव्य दिएका थिए भने समितिका इकाई अध्यक्ष श्याम ठकुरीले धन्यवाद ज्ञापन गरेका थिए । सचिव सुनुवारले गोर्खालीहरुको इतिहास समेटिएका दुईवटा पुस्तक भूपू गोर्खाहरुको तर्फबाट पुनलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा अल्डरसट नेप्लिज समाजका अध्यक्ष कल्याण गुरुङ, पूर्व गोर्खा एवम् समाजसेवी बलबहादुर राई लगायत भूपू गोर्खा परिवारको बाक्लो उपस्थिति थियो ।