बिहीबार, माघ ३, २०८१
08:45 | १४:३०

लन्डनबाट नेपाल होलिडे गएर म्यूजिक भिडियो

नेपाली लिङ्क अप्रिल २५, २०२२

लन्डन । साउथ वेष्ट लन्डनस्थित सेन्ट जोर्जेज हस्पिटलकी प्राक्टिस एजुकेटर रिमा कंडेल १५ वर्षपछि नेपाल जांदा यो पटक धेरै अविष्मरणीय अनुभव संगालिन् ।
महिना दिनको नेपाल बसाइमा नेपालका हरेक कुनामा घुमघाम, साहसिक पर्यटनको मज्जा र आफन्तजन भेटघाट त छंदैछ, यो बाहेक उनी म्यूजिक भिडियोमा अभिनय गर्न पनि भ्याइन् ।

सुःखद संयोग त भिडियोको अर्को लिड रोलमा छन् उनका श्रीमान् आस्तिक कंडेल । युवा निर्देशक सुब्रत आचार्यले निर्देशन गरेको म्यूजिक भिडियो ‘फूलको शहर ‘गीतको भिडियोमा रिमा दम्पतिले अभिनय गरेका हुन् । डिपी खनालले लेखेको गीत लोकप्रिय गायक शिव परियारले गाएका छन् ।

भिडियोमा उत्सव दाहालले नेपालका विभिन्न रमणीय दृश्यसहित लाली गुरांस फूल कैद गरेका छन् । ‘आफूले खोजेजस्तो लोकेशन, 
रोमान्टिक गीत र आफ्नै श्रीमान लिड रोलमा हुंदा सांच्चिकै रमाइलो लाग्यो’, शनिबार लन्डन फर्किएकी रिमाले भनिन्, ‘मलाई आशा छ म्यूजिक भिडियो सबैको रोजाइमा पर्नेछ ।’

रिमाले म्यूजिक भिडियो निर्माणमा खटिने समस्त टिमप्रति आभार पनि व्यक्त गरेकी छन् । भिडियो छिट्टै सार्वजनिक हुने तयारी छ ।

रिमा पेशाले नर्स भएपनि बेलायतमा यसअघि निर्मित दुईवटा तीज गीतको म्यूजिक भिडियोमा अभिनय गरिसकेकी थिइन् ।
उनी मिसेस नेपाल यूके २०१८ की वेष्ट फोटोजेनिक हुन् ।

कोभिड महामारीका बेला सेन्ट जोर्जेज हस्पिटलको ‘आउटडोर फोटोग्राफिक पोट्रेट एक्जिविसन’ मा छानिएर उनी एकाएक चर्चित भएकी थिइन् । उक्त अस्पतालमा कार्यरत ६ हजार बढी कर्मचारीमध्ये अग्रपंक्तिमा काम गर्ने ४३ जना छानिएकामा उनी पनि परेकी थिइन् ।

क्रोयडन नेपलिज कम्युनिटीकी पूर्व उपाध्यक्ष रिमा आफ्नो श्रीमान् आस्तिकसंग कयौं स्टेजमा एकसाथ नृत्य गरेकी छन् । बेलायतमा अकाउन्टिङ क्षेत्रमा कार्यरत आस्तिक राम्रो डान्सर पनि हुन् ।

सपरिवार नेपाल गएकी रिमा डेढ दशकपछि आफ्नो जन्मथलो राजापुर बर्दियादेखि कुश्मास्थित विश्वकै अग्लो र लामो व्यावसायिक स्काइ साइक्लिङ, चितवन सफारी, रयाफ्टिङ र पोखराको प्राकृतिक सौन्दर्य सम्मको अनुभव गर्न भ्याइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू