फ्रान्सको राष्ट्रपतिमा म्याक्रोन फेरि निर्वाचित
पेरिस १२ बैशाख– फ्रान्सका राष्ट्रपति एम्यानुयल म्याक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित भएका छन् । प्रमुख प्रतिष्पर्धी मारिन ले पेनलाई पराजित गर्दै उनले आफ्नो कार्यकाल फेरि दोहोरयाएका हुन् । उनले झण्डै ५८.६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्रो चरण पनि मतदान गराउनु परेको थियो ।
दोस्रो चरणमा उनका प्रतिष्पर्धी पेनले ४१.४ प्रतिशत मत पाएकी थिइन् । यसअघि सन् २०१७ मा भएको निर्वाचनमा भने राष्ट्रपति माक्रोनले ६६.१ प्रतिशत मत ल्याउँदा प्रतिष्पर्धीले ३३.९ प्रतिशत मत पाएका थिए । राष्ट्रपति म्याक्रोनले मतदानका बेला कतिपयले आफूलाई मतदान नगरेपनि आफू उनीहरुको समेत राष्ट्रपति भएको उल्लेख गरेका छन् । उनको विजयले युरोपेली नेताहरूलाई भने राहत भएको मानिएको छ ।
उनलाई युरोपेली मुलकका राष्ट्र प्रमुखहरुले फेरि निर्वाचित भएकोमा बधाई दिएका थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि म्याक्रोनलाई बधाई दिएका छन् ।
फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको निर्वाचन आयोगका अधिकारीहरुले जनाएका छन् । त्यो सङ्ख्या सन् १९६९ यताको सबैभन्दा कम मतदान भएको बताइएको छ ।