बिहीबार, माघ ३, २०८१
09:02 | १४:४७

साकेला उभौली मनाउने तयारीमा बेलायतका किरात राईहरु

मे २८ मा कार्यक्रम

किरण राई अप्रिल २१, २०२२

लन्डन । बेलायतमा बस्ने किरात राईहरुले यसपटक साकेला उभौली धुमधामले मनाउने भएका छन्।

आउँदो २८ मेमा बेलायतका किरात राईहरुले संयुक्त रुपमा एकैथलोमा साकेला उभौली मनाउने भएका हुन् ।

बेलायतको वकिङस्थित ग्याम्वल्सलेन किरात हाउसमा बेलायतभरका किरात राईहरु भेला भएर एकसाथ साकेला मनाउने भएका हुन्।

किरात राईहरुले हरेक वर्ष बैशाख पूर्णिमामा उभौली र अन्न भित्राउने समयमा मंसिर पूर्णिमामा मनाउने प्रचलनअनुरुप यसपटक उभौली मनाउने तयारी भएको किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले बताए । वर्षको  दुईपटक साकेला उभौली र उद्यौली मनाउने किरात राईहरुले बेलायतमा यसपटक धुमधामका साथ मनाइने तयारी भएको अध्यक्ष राईले बताए ।

साकेला उभौली मनाउनका लागि किरात राई यायोक्खा बेलायतले तीव्र गतिमा तयारी गरिरहेको साकेला व्यवस्थापन समितिका संयोजक तथा उपाध्यक्ष मेजर भूपजीत राईले बताए । साकेला सम्पन्न गर्न आवश्यक पूर्वाधार लगायत अन्य तयारी भईरहेको पनि संयोजक तथा उपाध्यक्ष राईले बताए ।

करिव १५ हजार बढि किरात राईहरुको सहभागिता हुने लक्ष्य राखिएको साकेलामा साकेला नृत्य गर्ने स्थान लगायत आवश्यक पूर्वाधारहरु निर्माण भइरहेको र त्यसका लागि आवश्यक जनशक्तिहरु परिचालन भइरहेको संयोजक मेजर भूपजीत राईले बताए । ‘साकेलालाई व्यवस्थित बनाउन मञ्च व्यवस्थापन, साकेला थान व्यवस्थापन, सवारीसाधन, असाहय र असक्तहरुलाई बस्ने स्थान निमार्ण लगायत आवश्यक कुराहरु भइरहेको छ’, संयोजक राईले भने ।

साकेलामा किरात राईहरुको संस्कार झल्कने संस्कृति प्रदर्शनी समेत गरिने भएको छ । संस्कारलाई थप जिवन्त दिनका लागि साकेला प्रतियोगिता समेत हुनेछ । बेलायतभर रहेका १३ वटा प्रारम्भिक कमिटीहरुबाट प्रतियोगितामा सहभागिता रहनेछ । कार्यक्रममा विभिन्न स्टलहरु समेत राखिने भएको छ ।

बेलायतमा किरात राईहरुको संख्या बढ्दै गएपछि अहिले नेपाल र भारतपछि सबैभन्दा धेरै संख्या छ । प्रत्येक वर्ष किरात राईहरुले साकेला धुमधामका साथ मनाउदै आएका छन् । बेलायतमा किरात राईहरु २० हजारमाथिको संख्यामा रहेको अनुमान छ ।

मानिस, जनावर तथा चराचुरुङ्गी बेसीतिरबाट लेकतिर बसाइ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्राउने समय मंसिर पूणिमामा उद्यौली र बालीनाली फलोस्, फुलोस् र  रोगव्याधी नलागोस्  भनी भगवनासंग प्रार्थना गर्न बैशाख पूर्णिमामा उभौली मनाउने गरेका छन्।  

साकेला चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएको छ । उभौली पर्वमा विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ ।

 उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरूले चासुवा र सुनुवारहरूले फोलस्याँदर भन्दछन् ।

साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नाच्ने चलन छ । विशेष किरातीहरुले आफ्नो घरको मुल चुलामा पूजामा गरी साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ ।

हुर्रे हा हा , ‘सोई ढोले सोई ‘अर्को ढोले खै’ भन्दै यस दिन पारस्पारिक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरु एवं विशेषतः किराँत संस्कृतिको अमूल्य सांगीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाइन्छ ।

बेलायतका किरात राईहरुले पनि एकै स्थानमा भेला भएर सामुहिक भूमि पूजा गर्ने गरेका छन् । विशेष गरी सम्पूर्ण किरात गैर किरातहरुको बाक्लो उपस्थितिमा साकेला नाचेर मनाइन्छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू