गोर्खा सेन्टरले स्वयंसेवकहरुलाई सम्मान गर्दै मनायो नयां वर्ष
लन्डन । लन्डनस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले स्वयंसेवकहरुलाई सम्मान गर्दै नेपाली नयां वर्ष २०७९ मनाएको छ ।
गत १३ तारिख सांझ हेज र हिलिङडन वरिपरि बसोबास गर्दै आएका भूपू गोर्खाहरुलाई सेवा पुरयाउंदै आएको रजिस्टर्ड च्यारिटी उक्त संस्थाले गरेको नयां वर्ष २०७९ शुभकामना आदानप्रदान कार्यक्रममा सेन्टरको स्थापनाकालदेखि निरन्तर सहयोग पुरयाउंदै आएका स्वयंसेवकहरुलाई सम्मान गरियो ।
सो अवसरमा कोभिड–१९ महामारीका बेला आफैंले हजारौं मास्क बनाई वितरणसहित आर्थिक संकलनमा विशेष सहयोग पुरयाएको भन्दै सेन्टरले हिल्लिंगडन निवासी श्रीमति अञ्जना गुरुङलाई ‘कम्युनिटी हिरो’ को रुपमा विशेष सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि हिल्लिङडन काउन्सिल मेयर रोय चाम्डल एवं मेयोरेस रिता चाम्डलद्वारा अन्जनालाई सम्मान गरिएको हो । साथै अन्य स्वयंसेवकहरुलाई पनि सम्मान गरिएको थियो ।
उक्त कार्यक्रम सफल बनाउन भूपू गोर्खा सेवाग्राही पाहुनाहरुको बाक्लो उपस्थितिसंगै हिल्लिङडनका वर्तमान अध्यक्ष पूर्ण लिम्बु साथै निवर्तमान अध्यक्ष छत्रसिंह लिम्बु, ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका निर्देशक मीन दर्लामी, किशोर राना, सूर्य नेम्बाङ्ग, नेपालबाट आएकी टिच फर नेपालकी सिइओ स्वस्तिका श्रेष्ठ आदिको उपस्थिति थियो ।
कार्यक्रममा गोर्खा सेन्टरका स्वयंसेवकहरुको विभिन्न मनोरन्जनात्मक नृत्य प्रस्तुतिसंगै सोनाहाङ राईले गायन प्रस्तुत गरे ।
उक्त कार्यकममा सहभागी गोर्खाहरुका लागि एचएसबीसी बैंक प्रतिनिधिले बैंकिक सुबिधासम्बन्धि जानकारीमुलक प्रस्तुति दिएका थिए । एचएसबीसी बैंकका रमेश अर्यालले स्वयंसेवकहरुलाई केही थान आइप्याड पनि निशुल्क प्रदान गरे ।
गोर्खा सेन्टरका संस्थापक प्रमुख भीम तामाङले उपस्थिति सबै पाहुनाहरुलाई पुष्प गुच्छासहित शुभकामना र धन्यवाद दिएका थिए । ब्रुनेल युनिभर्सिटीबाट सोसल वर्कमा मास्टर्स गरेका भीमले आफ्नो विश्वविद्यालयका प्राध्यापकलाई निम्त्याएर विशेष धन्यबाद प्रकट गरे ।
कार्यकमको अन्त्यमा, नेपाली लोकसंगीतमा सामूहिक नृत्यसहित ‘राफल ड्र’ गरिएको थियो । कार्यक्रममा बिएफबिएस गोर्खा रेडियोका स्टेशन म्यानेजर योगराज राईले विभिन्न व्यक्तिसंग अन्तर्वार्ता लिएका थिए ।