लन्डनमा तेस्रो पटक काउन्सिलरको प्रतिष्पर्धामा मेयर विष्णु गुरुङ
लन्डन–एक दशक बढी समय बेलायतको स्थानीय राजनीतिमा होमिएका भूतपूर्व गोर्खा मेयर विष्णुबहादुर गुरुङ तेस्रो पटक पुनः काउन्सिलर उम्मेदवारको प्रतिष्पर्धामा छन् ।
लन्डन बरो अफ हन्स्लोको ५६ औं मेयरमा लेबर पार्टीको प्रतिनिधित्व गर्दै गतवर्ष निर्वाचित नेपाली मूलका गुरुङ लन्डन क्षेत्रका पहिला मेयर हुन् । सन् २०१४ मा हन्स्लोकै हानवर्थ पार्क क्षेत्रबाट पहिलोपटक उनी काउन्सिलर निर्वाचित भएका थिए ।
सन् २०१४ देखि २०१५ मा डेपुटी मेयर समेत बनेका गुरुङ सन् २०१८ मा पुनः काउन्सिलर निर्वाचित भए । दुई पटक काउन्सिलर, एकपटक डेपुटी मेयर र हाल मेयरको जिम्मेवारी सम्हाल्दै आएका गुरुङ सन् २००५ देखि लन्डनमा बस चालकको रुपमा निरन्तर कार्यरत छन् ।
आगामी मे ५ तारिख हुन गइरहेको बेलायतको स्थानीय निर्वाचनमा गुरुङले लन्डन बरो हन्स्लोको हानवर्थ पार्क क्षेत्रबाट काउन्सिलरको उम्मेदवारी दिएका हुन् । गुरुङका साथमा लेवरकै फरहा कमरान पनि यतिबेला क्यान्डिडेट आउट कार्ड वितरणसहित चुनावी अभियानमा लागेकी छन् ।
‘सबै महिला उम्मेदवारहरुसंग प्रतिस्पर्धा हुँदैछ, जित्ने सम्भावना राम्रै छ तर, व्यक्तिलाई नभएर पार्टीलाई भोट दिने भएकाले पार्टीको पनि विश्वासिलो हुनुपर्छ’- गुरुङले नेपालीलिंकसंग भने । अन्तिम समयमा आएर आफ्नो उम्मेद्वारी पक्का भएकाले निकै छोटो समयमा धेरै दौडधुप चलिरहेको उनले बताए ।
आफ्नो क्षेत्रमा ‘डोर टु डोर’ क्याम्पेनमा लागिरहेको उनले बताए । मिश्रित समुदाय रहेकाले सबैको सहयोग अपरिहार्य र समस्त मतदाताको विश्वास जित्नुपर्ने उनको धारणा छ । काउन्सिलरमा विजय भएपछिको अवस्था के हुन्छ भन्ने अहिले भन्न नसकिने र त्यसको निर्धारणका लागि पुनः अर्को मतदान हुने उनले बताए ।
सन् २०१८ यता लेबर पार्टीको स्थानीय टिमले सडक, हाउजिङलगायतमा उल्लेखनीय सुधार गरेको हुँदा आफ्नो पार्टीले स्थानीयको मन जितेको उनी बताउंछन् ।
नेपाली समुदायले पर्याप्त सहयोग गरेपनि आफूले स्थापित गरेको गोर्खा नेप्लिज कम्युनिटी हन्स्लो (जीएनसीएच) ले हालसम्म खासै पहल नगरेको गुरुङको गुनासो छ ।
हिलिङडन गोर्खा नेप्लिज कम्युनिटीको तर्फबाट पनि आफूले सहयोग पाएको उनले बताए । चुनावी अभियानमा सहयोग गर्न स्थानीय नेपालीहरुलाई गुरुङले आग्रह गरेका छन् ।
करिब दुई दशक बेलायती सेनामा सेवा गरेका गुरुङ सन् १९९५ मा सेनाबाट अवकाश भएपछि सन् २००५ देखि सपरिवार बेलायतमा बस्दै आएका छन् । सन् २०११ बाट लेबर पार्टीको सदस्यता लिएका गुरुङ सन् २०१४ देखि स्थानीय राजनीतिमा निरन्तर संलग्न हुदै आएका हुन् ।
गोर्खा नेप्लिज् कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष समेत रहेका गुरुङ देवाचन बुद्धिष्ट सेन्टर यूकेको सल्लाहकार समेत हुन् ।
उनी आर्मड् फोर्सेस च्यारिटी (साफा) मा पनि आबद्ध रहंदै सामाजिक कार्यमा योगदान दिंदै आएका छन् । विशेषगरी भाषा समस्या भएका पूर्व गोर्खाहरुको लागि हाउजिङ सुविधा लगायत अन्य थुप्रै सहयोग गर्दै आएको उनले बताए ।