बिहीबार, माघ ३, २०८१
12:08 | १७:५३

बेलायतमै बनाइएको फिल्म ‘
कैदीको पत्र’ छिट्टै दर्शकमाझ

नेपाली लिङ्क अप्रिल १६, २०२२

लन्डन । लन्डननिवासी कलाकार, लेखक एवं निर्देशक सनमकुमार बैराग आफ्नो डेब्यू निर्देशन फिल्म ‘
कैदीको पत्र’ लिएर छिट्टै दर्शकमाझ आउने तयारीमा छन् ।

लन्डनका स्वर्गीय साहित्यकार ईश्वर मानन्धरको कथामा आधारित ‘कैदीको पत्र’ पोष्ट प्रोडक्शनको काम सकिएर विश्वव्यापी रिलिजको तयारीमा छ । उक्त फिल्ममा गीत, पटकथा, संवाद तथा निर्देशन सनमकै छ ।

‘कैदीको पत्र’ संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्डमा ४० दिन लगाएर छायांकन गरिएको हो ।

स्कटल्याण्डको क्रीफ, आवरफेल्दी, केनमोर, ओवन, ग्लास्गो आदिमा छायांकन भएको उक्त फिल्मका लागि क्यामेरामेन, सहायक निर्देशकसहित ७ जनाको प्राविधिक टोली नेपालबाटै ल्याइएको थियो । विदेशी र नेपाली कलाकार अभिनित फिल्ममा ३५ प्रतिशत संवाद अंग्रेजीमै छ ।

खुशीलाई सम्हाल्न नसक्दा आफैंले निम्त्याएका दुःखले मानिसलाई कुन हदसम्म परयाउंछ भन्ने चलचित्रको मुख्य मर्म रहेको निर्देशक सनम बताउंछन् । मायांको बांध फुटेर बगेको जीवन कति कहालीलाग्दो हुन्छ भन्ने पनि चलचित्रले उजागर गरेको छ ।

विदेशको संघर्ष, बेलायत आएपछि नेपालीको अपेक्षा, कागज (आवासीय भिसा) बनेपछि आउने परिवर्तन जस्ता जल्दाबल्दा विषय उठाएका छन् सनमले ।

स्कटल्याण्डको रमणीय दृश्य, नेपाली र बेलायती कलाकारहरुको समिश्रण, उत्कृष्ट प्राविधिक पक्ष, 
संवाद र गीत संगीतले फिल्म राम्रो बनेको निर्माण पक्षको भनाइ छ ।

नेपालमा तिहारपछि प्रदर्शन गर्ने सोच सनमको छ ।

कोभिड अघि २०१९ जुलाइमा छायांकन शुरु गरिएको उक्त चलचित्र अझै प्रदर्शन भएको छैन् । तर निर्देशक सनम कोभिड महामारीपछिको लकडाउनमा झन् धेरै समय पोष्ट प्रोडक्शनमा खर्चन पाएर फिल्म राम्रो बनेको भन्दै खुशी छन् ।

‘पुरै फिल्म बेलायतमा बनाउन कम चुनौतिपूर्ण थिएन’, सनमले भने, ‘तर नेपालबाट प्राविधिक टिम, बेलायतको स्थानीय निकायले गरेको सहयोग र साथीभाइको प्रेरणाले डेब्यू निर्देशनमा खासै समस्या लागेन ।’

नेपाल छंदा दर्जनौं नाटक र टेलिचलचित्र लेखन निर्देशन एवं अभिनय गरेका सनम झण्डै २३ वर्षअघि सन् १९९९ मा बेलायत आइपुगे ।

बेलायत बसाइका क्रममा पनि उनले कलाकर्म छाडेनन् । केही वर्ष यता त उनी पूर्णकालिन रुपमा कला क्षेत्रमै सक्रिय छन् ।

सन् २०१६ मा भूकम्पमा आधारित नाटक ‘समय दृष्य’ निर्देशन गरे । त्यसको एकवर्षपछि सन् २०१७ दश 
वर्षे जनयुद्ध सम्बन्धि नाटक ‘जीगिषा’ निर्देशन एवं 
अर्को वर्ष सन् २०१८ मा ऐतिहासिक नाटक ‘भिमसेन थापा’ निर्देशन गरेर उनले बेलायतवासी नेपालीको मन जिते ।

कोभिड कहरमा आधारित सर्ट मूभि ‘शुन्य’, बेलायतमा जनगणना सम्बन्धि एक मिनेटको सामाजिक सन्देशमुलक भिडियो लगायत कयौं प्रोजेक्ट गरिसकेका उनी वर्षको एउटा नाटक र एक चलचित्र निर्माण गर्ने उद्देश्य अनुरुप अहिले नाटक ‘आयो गोर्खाली’ र चलचित्र ‘स्याडो अफ डार्क लाइफ’ को काम गरिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू