चार्ल्टनमा आइतबार नयाँ वर्ष उत्सव: चर्चित कलाकारको लाइभ दोहोरी हुने
लन्डन- साउथ इष्ट लन्डनको चार्ल्टनस्थित ‘चार्ल्टन नेपाली समाज’ को आयोजनामा आइतबार नेपाली नयाँ वर्ष मनाइने भएको छ।
स्थानीय मेरिडियन स्पोर्टस् तथा सोसल क्लबमा साँझ ५ देखि १० बजेसम्म विविध मनोरञ्जनात्मक कार्यक्रमसहित नयाँ वर्ष मनाउन लागिएको हो।
समाजका उपाध्यक्ष प्रकाश कंडेलका अनुसार कार्यक्रमको प्रमुख आकर्षण नेपालका चर्चित लोकदोहोरी कलाकारद्वय अस्मिता डल्लाकोटी र विशाल रायमाझीको लाइभ दोहोरी रहनेछ । साथमा स्थानीय कलाकारका अन्य विभिन्न सांस्कृतिक प्रस्तुतिहरुबाट पनि मनोरञ्जन गराइनेछ।
कार्यक्रममा प्रस्तुति दिने गायिका अस्मिता र गायक विशाल नेपालमा लोकदोहोरीको क्षेत्रमा ख्याति कमाएका कलाकार हुन् । अस्मिताको टीम हालै सम्पन्न राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा समेत प्रथम भएको थियो ।
कार्यक्रममा प्रवेश शुल्कस्वरूप वयस्कलाई १२ र बालबालिकालाई ७ पाउन्डको टिकट लाग्नेछ जसमा डिनर पनि उपलब्ध गराइनेछ ।
चार्ल्टन नेपाली समाजकी अध्यक्ष रेखा खरेलले कार्यक्रममा सहभागिताका लागि साउथ इष्ट लन्डनवासी सम्पूर्ण नेपालीहरुलाई आव्हान गरेकी छन्।