बिहीबार, माघ ३, २०८१
12:17 | १८:०२

पिटरबरोमा नेपाली नयाँ वर्ष शुभकामना साँझ

नेपाली लिङ्क अप्रिल १३, २०२२

 

लन्डन। पिटरबरो नेपाली समाज यूकेको आयोजनामा  नेपाली नयाँ वर्ष २०७९ आगमनको  शुभकामना आदनप्रदान एक समारोहका साथ सम्पन्न भएको छ। 

पिटरबरोबाट प्रतिनिधित्व  गर्ने सांसद पाउल ब्रिस्टोको प्रमुख आतिथ्यमा  सोमबार वेस्टउडको स्टामफोर्ड हलमा सम्पन्न कार्यक्रममा स्थानीय नेपालीको उल्लेख्य उपस्थिति रह्यो।

पिटरबरो र आसपासमा बस्ने करिब २ सय नेपालीको सहभागिता रहेको कार्यक्रममा सांस्कृतिक कार्यक्रम, नाचगान र नेपाली खानापिनासहित आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरियो।  

समाजका अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा संचालित  कार्यक्रममा प्रमुख अतिथि सांसद पाउल ब्रिस्टोले नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिंदै नेपाल र बेलायतको दुई सय वर्षभन्दा पनि पुरानो सम्बन्धको चर्चा गरे ।  पिटरबरोमा बहु संस्कृतिका धनी नेपालीहरूको बस्ती बढ्दै गएकोमा खुशी लागेको  जनाउंदै उनले बेलायतका लागि गोर्खा सौनिकहरूले गरेको योगदानको पनि प्रशंसा गरे। कार्यकमका अतिथिहरू पिटरबरो सिटी काउन्सिलर गुल नवाज, कन्जरभेटिभ पार्टीका वार्ड लिडर मोहमत रेन्जावले पनि नेपालीहरूलाई नयाँ वर्षको शुभकामना दिएका थिए। 

त्यस अवसरमा पिटरबरो नेपाली समाजका ट्रस्टी संयोजक शिव पौडेल र पूर्व अध्यक्ष किरण कार्कीले समाजले गरेका कार्यको सराहना गर्दै सबैलाई नयाँ वर्षको शुभकामना दिएका थिए ।

समाजका अध्यक्ष हरिहर भट्टराईले पिटरबरो क्षेत्रमा बस्ने नेपालीहरूलाई महत्व दिएर कार्यक्रममा सहभागी भएकोमा सांसद पाउलप्रति आभार प्रकट गरे । उनले समाजको कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिंदै समाजको तर्फबाट नयाँ वर्षको शुभकामना व्यक्त गरे ।

कार्यक्रम सञ्चालन समाजका महासचिव कृष्ण लुईटेलले  गरेका थिए। साँझ ५ देखि राति ११ बजेसम्म चलेको शुभकामना कार्यक्रमको अन्त्यमा सहभाग डिजे नाचमा रमाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू