बिहीबार, माघ ३, २०८१
11:11 | १६:५६

लन्डनमा नेपाली साहित्यकारहरूले मनाए नयाँ वर्ष

नेपाली लिङ्क अप्रिल १३, २०२२

लन्डन- बेलायतस्थित नेपालीहरूको पुरानो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेले सिर्जना वाचन, गीत संगीत र सम्मानसहित नेपाली नयाँ वर्षलाई स्वागत गरेको छ ।

भर्चुअलरूपमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यले विदेशमा नेपाली पहिचान जिवन्त राख्ने नेपाली भाषा, साहित्य संस्कृति जस्ता मूलभुत कुरालाई संरक्षण र समृद्ध गर्न परिषदले निरन्तर गरेका गतिविधि अत्यन्त सराहनीय रहेको बताए । 

परिषदको संरक्षकत्त्व ग्रहण गर्दै राजदूत आचार्यले नेपाल र नेपालीको पहिचान समृद्धि हुने परिषद्का यस्ता सिर्जनात्मक कार्यहरूमा राजदूतावासको सहयोग र सहभागिता निरन्तर रहिरहने विस्वास पनि व्यक्त गरे । राजदूत आचार्यले पुरस्कृत सर्जकहरूमा वधाई तथा शुभकामना समेत दिए ।

कार्यक्रममा परिषद्को नेपाल च्यापटरका प्रमुख सल्लाहकार संयोजक वरिष्ठ साहित्यकार गोपाल पराजुलीले बेलायतमा नेपाली साहित्यको श्रीबृद्धि बढाउने कार्यमा नेपाली साहित्य विकास परिषद् युकेले महत्वपूर्ण योगदान पुरयाइरहेको चर्चा गरे ।

यसैगरी परिषद्का संस्थापक तथा पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् युके स्थापना हुँदा तत्कालिन राजदूत सूर्यप्रसाद श्रेष्ठको सल्लाह, सहमति र सहभागिताबाट नै बेलायतस्थित नेपाली राजदूत परिषद्को पदेन संरक्षक रहने परिपाटी भएको जनाउंदै तत्पश्चात आएका सबै राजदूतबाट परिषदमा गरिमामय सहभागिता र सहयोग रहँदै आएको उल्लेख गरे ।

कार्यक्रमका सभापति तथा परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपाली पहिचान बोकेको नयाँ वर्ष मनाएर आफूहरुले गाउँ घर, चौतारी र भञ्ज्याङहरूलाई सम्झिरहेका बताउंदै परिषद्का विविध क्रियाकलापबारे चर्चा गरे ।

यसैगरी परिषद्का पूर्व अध्यक्ष तथा बिबिसी नेपाली सेवाका पूर्वप्रमुख वरिष्ठ पत्रकार खगेन्द्र नेपालीले सिर्जनाले सिञ्चेर परिषद्को स्थापनाकाल देखि नै आफ्नो माटोको सुवासना बोकेको नेपाली नयाँ वर्ष मनाउँदै आइरहेको र दूतावासको प्रत्यक्ष संलग्नताले अझ विशेष महत्व राखेको जनाए ।

अर्का वक्ता तमुधि लन्डन कमिटीका पूर्व अध्यक्ष डेभिड गुरुङले नेपाली साहित्यको श्रीबृद्धिमा परिषद्ले गहन योगदान पुरयाउँदै आएको उल्लेख गरे ।

कार्यक्रममा स्वागत मन्तव्य परिषद्का सह अध्यक्ष कवि रेशम अर्यालले दिएका थिए । 

यस अघि कार्यक्रम शुभारम्भ गर्दै परिषद्का महासचिव वीरेन्द्र कुँवरले बेलायतको भूमिमा नेपाली भाषा साहित्यलाई जोगाउँदै लगेर नेपाल र नेपालीको पहिचान फैलाउने कार्यमा परिषद्ले साहित्यिक गतिविधिहरू गर्दै आएको चर्चा गरे ।

रोयल बरो अफ ग्रीनवीच नेप्लीज कम्युनिका अध्यक्ष तथा यती नेपाली एसोसिएसन युकेका सामाजिक सचिव जित रानाभाटले परिषदले सिर्जना वाचन र गीतसङ्गीत संयोजन गरेर प्रेरणामूलकरूपमा नयाँ वर्ष उत्सव मनाएको बताए ।

अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले परिषद्को आठौँ पदेन संरक्षकको रूपमा राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत सम्मान गरी अभिनन्दन-पत्र पढेर सुनाएका थिए।  

कार्यक्रममा साहित्य सिर्जनाका लागि एनएलडिसी नेपाली साहित्य पुरस्कारबाट पुरस्कृत वरिष्ठ कवयित्री हिन्दनैञा वैद्य र  गीतसङ्गीत कलाका लागि एनएलडिसी साहित्यकला पुरस्कारबाट पुरस्कृत वरिष्ठ कलाकार प्रमोद शर्मालाई प्रमुख अतिथि परिषद्का संरक्षका महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले सुशोभन गराएका थिए । 

नेपाल, भारत र बेलायतका सर्जकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा कलाकार सन्तोषी सिंहले कलकत्ता , भारतबाट सुमधुर कन्ठमा नेपाली राष्ट्रिय गीतहरू गाएकी थिइन् भने कलाकार प्रमोद शर्माले लन्डनबाट सुमधुर गीतहरू गाएका थिए ।

यसैगरी सो अवसरमा २२ जना सर्जकहरु वसन्त रायक्षेत्री, खगेन्द्र नेपाली, वासु सापकोटा, हिन्दमैया बैद्य, डम्वर सिंह ‘प्रयास’, गोकुल भण्डारी, डा.माधवी भट्ट, घनबहादुर थापा, रेशम अर्याल, डा. सुधा श्रेष्ठ, बासु शर्मा, डेबिड गुरुङ, मोहन आचार्य ‘जलद’, सीता भण्डारी, केशव रुपाखेती, ललिता दोषी, गंगा लिगल, गोपाल पराजुली, सुरेशजङ्ग शाह र कोमल मल्लले कविता वाचन गरेका थिए ।

कार्यक्रममा नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी कर्णेल रत्न गोदार लगायत विभिन्न साहित्यिक तथा सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उत्साहवर्धक सहभागिता थियो ।

नेपाली साहित्य विकाष परिषद् युकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै नेपाली नयाँ वर्ष साहित्य सन्ध्याका रूपमा मनाउँदै आएको छ । गत वर्ष देखि भने कोरोनाका कारण भर्चुअलरूपमा मनाइएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू