मिनियापोलिस, १८ जेठ– संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरुमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए ।
अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा लगातार पाँचौं दिन हिंसा फैलिएको छ । भीड नियन्त्रण गर्न खटाइएका दङ्गा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेका थिए । गत सोमबार एक निहत्था अश्वेत व्यक्तिमाथि गोरा प्रहरीले अमानवीय ढङ्गबाट हत्या गरेको भन्दै हिंसा भड्किएको हो ।
लस एन्जलस, शिकागो र एटलान्टा समेतका दुई दर्जन शहरमा मानिसहरूलाई स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरी रातभरि घरमै बस्न आदेश दिएको थियो । यहाँ नेसनल गार्डका सैनिकलाई पनि तैनाथ गरिएको थियो जुन अमेरिकी इतिहासमा बिरलै देख्न सकिने घटना हो । सियाटलदेखि न्यूयोर्कसम्म दशौं हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरुको माग थियो- अश्वेत युवा जर्ज फ्लोएडका हत्या आरोपी प्रहरीलाई कडाभन्दा कडा सजाय होस् र घटनामा संलग्न अरु प्रहरीलाई पनि गिरफ्तार गरियोस् ।
मिनियापोलिसका पुलिस अधिकृत डेरेक चौभिनले जर्ज फ्लोएडलाई ८ मिनेटसम्म घाँटीमा घुँडाले थिचेको हृदयबिदारक दृश्य सार्वजनिक भएपछि हिंसा भड्किएको हो । सास फेर्न छाडेपछि पनि चौभिनले झण्डै ३ मिनेटसम्म फ्लोएडको घाँटी थिचेको आरोप छ । लस एन्जलसमा उग्र प्रदर्शनकारीले प्रहरीको गाडीमा आगो लगाएपछि प्रहरीले उनीहरुलाई तितरबितर गर्न रबरको गोली र लाठीचार्ज गरेका थिए ।
शिकागो र न्यूयोर्क लगायतका धेरैवटा शहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका थिए । फिलाडेल्फियामा प्रदर्शनकारीले पसलका झ्यालहरुमा ढुंगामुडा गरेर तोडफोड गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिसमा भएका लुटपाट र आगजनीका लागि अति दक्षिणपन्थी समूह सक्रिय रहेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरुले फ्लोयडको स्मृतिलाई पनि अनादर गरेको ट्रम्पले बताए । राष्ट्रपतिले भने, “हामीले एउटा अराजक सानो समूहलाई हाम्रा शहरहरू तोडफोड गर्ने छुट दिनु हुँदैन । मेरो प्रशासनले भीडको हिंसा रोक्नेछ । र हामीले यसलाई निर्मम ढंगबाट रोक्नुको विकल्प छैन ।”
अमेरिकी सीमा नाघेर प्रदर्शन क्यानाडाको टोरन्टो पनि पुगेको छ । प्रदर्शनकारीहरूले “अश्वेतको जीवनको महत्व छ”, “म सास फेर्न सक्दिन” भन्ने जस्ता नारा अमेरिकादेखि क्यानाडासम्म लागेको छ । जर्ज फ्लोयडका भनाईहरु अहिले प्रहरी क्रुरताको नयाँ प्रतीक बनेका छन् । मिनेसोटाका गभर्नर टिम वाल्जले मिनियापोलिस सेन्टपल क्षेत्रमा प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन १३,००० शक्तिशाली राष्ट्रिय गार्ड (अर्धसैनिक प्रहरी) परिचालन गरिएको बताए । मिनियापोलिसतर्फ जाने सबै प्रमुख राजमार्गहरुमा शनिबार राति सैनिक हेलिकप्टरहरूले आकाशबाट गस्ती गरेका थिए ।
यसैबीच, अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाभर जारी जातीय प्रदर्शनसँगै भएको हिंसात्मक घटनाको निन्दा एवं भत्र्सना गरेका छन् । तर उनले अन्यायका विरुद्धमा आवाज उठाउने अमेरिकीहरुको अधिकार भएको बताए । “यस्तो क्रुरताको विरुद्धमा प्रदर्शन गर्न अधिकार र आवश्यक दुबै हो । तर आगजनी र अनावश्यक तोडफोड जरुरी होइन । मानिसको जीवनलाई खतरामा लैजाने हिंसा हामीले चाहेको होइन । मानिसको जीवनमा अत्यावश्यक व्यवसाय बन्द हुने हिंसा अक्षम्य हो’ उनले एक विज्ञप्ति प्रकाशित गरी भनेका छन् ।