लकडाउन नियम उल्लंघन गरेकामा बेलायती प्रधानमन्त्रीलाई जरिवाना
लन्डन, २९ चैत – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई प्रहरीले कारबाही गर्ने भएको छ ।
लकडाउनका बेलामा नियम उल्लंघन गरेर भोजमा सहभागी भएकाले उनलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।
घटना केही समय अगाडि नै भएको भएपनि प्रहरीले मंगलबार मात्रै जोन्सन दोषी भएकोले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
प्रहरीले प्रधानमन्त्री बोरिससँगै अर्थमन्त्री ऋषि सुनाकलाई पनि कारबाही हुने निष्कर्ष निकालिएको जनाएको छ ।
“जोन्सन र सुनाकलाई आज कारबाही सम्बन्धी सूचना पठाइएको छ, उहाँहरुलाई जरिवाना गर्ने बारेको सूचना महानगरको प्रहरीले पठाएको हो,” एक सरकारी अधिकारीले मंगलबार भने ।
देशभरी कोरोनाभाइरसको महामारी फैलिएकाले लकडाउन लागू भएको बेला सन् २०२० मे २० मा उनले नियम उल्लंघन गरेको प्रहरीको भनाई छ ।
प्रहरीले जरिवाना तिराउनु पर्ने गल्ती गरेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने बेलायतका विपक्षी दलका नेताहरूको माग छ ।
प्रमुख विपक्षी दल लेबर पार्टीका नेता केइर स्टारमरले नैतिकताका आधारमा प्रधानमन्त्री जोन्सनले राजीनामा दिनु पर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री जोनसनले पटक पटक नियम उल्लंघन गरेको उनको आरोप छ ।