पाकिस्तानका नवनियुक्त प्रधानमन्त्रीद्वारा शपथ
इस्लामावाद, २९ चैत- पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफले पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन् ।
प्रधानमन्त्री इमरान खानले पाकिस्तानको संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि भएको मतदानमा शेहबाज शरिफ सोमबार पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
पाकिस्तानको संसदमा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लिम लिग नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
सोमबार राति नै आयोजित एक विशेष समारोहमा उन लाई प्रधानमन्त्री पदको शपथ गराइएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पाकिस्तानको संसद्का ३४२ सदस्य मध्ये १७४ जनाले शरिफको पक्षमा मतदान गरेका थिए । शरिफले पाकिस्तानको हालको विपक्षी दलको नेतृत्व गर्दै आएका थिए । ७० वर्षका शेहबाज पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ हुन् ।
लाहोरमा जन्मिएका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बनेका थिए । उनले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउने भएका छन् ।
विश्वासको मत प्राप्त गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री इमरान खान जिम्मेवारीमुक्त भएका थिए र त्यसलगत्तै सोमाबार नयाँ प्रधानमन्त्री चयनका लागि मतदान भएको थियो ।