बिहीबार, माघ ३, २०८१
10:49 | १६:३४

महावीर पुनलाई बेलायती विश्वविद्यालयको पूर्ण साथ, २० लाख बढी सहयोग

नेपाली लिङ्क अप्रिल ९, २०२२

लन्डन । कोषवृद्धिका लागि युरोप भ्रमणका क्रममा हाल बेलायत रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनलाई सहयोग जुट्ने क्रम जारी छ ।

बेलायतस्थित विभिन्न समुदायसंग अन्तरसंवादमा व्यस्त पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बेलायतबाट १३ हजार पाउण्ड (२० लाख ५४ हजार रुपैयां) सहयोग प्राप्त भएको छ ।

बेलायतस्थित युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकासायर (यूक्लान) मा पुनसंग आयोजित अन्तरक्रियामा १० हजार पाउण्ड सहयोग भएको हो ।

बिज एजुकेशनले आयोजना गरेको उक्त अन्तरक्रियामा यूक्लानका दक्षिण एसिया निर्देशक गोविन्दसिंह विष्टले १० हजार पाउण्ड प्रदान गरेका हुन् ।

उता, सोही दिन सांझ बिज एजुकेशन र नेपाली समाज प्रिस्टनले महारानी रेष्टुरेन्ट प्रिस्टनमा गरेको अन्तरक्रियामा तीन हजार पाउण्ड संकलन भयो ।

कार्यक्रममा नेपाली समाज प्रिस्टनले ६ सय एक पाउण्ड र बिज एजुकेशनका निर्देशक हरि कार्कीले २ हजार ३ सय ९९ पाउण्ड प्रदान गरेका थिए ।

यसअघि यूक्लानमा भएको अन्तरक्रियामा विश्वविद्यालयका उपकुलपति प्राध्यापक ग्राहाम बाल्डवीनले पुनलाई विशेष सम्मान गर्दै आफ्नो विश्वविद्यालयमा पुनलाई स्वागत गर्न पाउंदा हर्षित र गौरवान्वित भएको बताए ।

प्राध्यापक ग्राहामले आफ्नो विश्वविद्यालयले पनि अन्वेषण, अनुसन्धान र इन्जिनियरिङमा विज्ञता हांसिल गरेको जनाउंदै आविष्कार केन्द्रसंग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए ।

पुनले यूक्लानको इनोभेसन एण्ड रिसर्च सेन्टर अवलोकन गरेपछि थप उत्साहित भएको बताएका थिए ।

पुनले कार्यक्रम आयोजक बिज एजुकेशनलाई धन्यवाद दिंदै आविष्कार केन्द्रको आवश्यकता र औचित्यबारे अवगत गराए । उनले आफ्नो प्रोजेक्टमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै अरुबाट पनि सहयोगको अपेक्षा राखे ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुन

कार्यक्रममा नेपाली वैज्ञानिक पुनसंग यूक्लान अध्ययनरत नेपाली विद्यार्थीले फर्किएर केन्द्रलाई के योगदान गर्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए । प्रतिउत्तरमा पुनले केन्द्र क्षमतावान विद्यार्थीको ज्ञान र सीप सदुपयोग गर्न लालयित रहेको बताए । पुनले नेपालमा अनुसन्धान तथा आविष्कारको संस्कार र जग जसरी भए पनि बसाल्नु पर्ने आवश्यकतामा जोड दिए ।

आविष्कार केन्द्रका युरोप संयोजक हरिकृष्ण न्यौपानेले केन्द्रको प्रोजेक्टबारे थप प्रष्टयाउंदै आयोजक बिज एजुकेशनका निर्देशक हरि कार्की, यूक्लान नेपाली सोसाइटी, नेपाली समाज प्रिस्टोनप्रति आभार व्यक्त गरे ।

उनले महावीर पुनको युरोप भ्रमण कोषवृद्धि तथा विश्वविद्यालय र विज्ञहरुसंग सहकार्य गर्नका लागि भएको जनाउंदै प्रवासको नेपाली समुदायलाई आर्थिक सहयोग गर्न पनि आग्रह गरे ।

बिज एजुकेशनका निर्देशक कार्कीले यूक्लान विश्वविद्यालय, महावीर पुन लगायत सबै सहयोगीलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेका थिए ।

सांझ सांस्कृतिक कार्यक्रमसहित अन्तरक्रिया भएको थियो । दुवै कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति थियो ।

करिब अढाइ महिना अवधिमा युरोपका १७ मुलुक पुग्ने पुनको योजना छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू