बिहीबार, माघ ३, २०८१
09:57 | १५:४२

मगर संघ यूकेमा पहिलो महिला अध्यक्ष बन्ने प्रयासमा सीता पुन

नेपाली लिङ्क अप्रिल ८, २०२२

लन्डन-बेलायतस्थित प्रमुख नेपाली संघसंस्थामध्ये एक मगर संघ यूकेको नेतृत्वमा सीता पुन मगरले दावी गरेकी छन् ।  

संघको पहिलो महिला अध्यक्ष बन्ने प्रयाससहित उनले अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएकी छन्।  

संघको नयाँ नेतृत्वका लागि शनिबार अल्डरसटस्थित स्यामुएल कोडी स्कुलमा निर्वाचन हुँदैछ। 

अध्यक्ष उम्मेद्वार पुनले यसअघि मगर संघ यूकेका विभिन्न पदमा रहेर काम गरिसकेकी छन् । पुन केन्ट शाखामा सांस्कृतिक सहसचिव, महिला संघ सचिव हुँदै केन्द्रीय महिला संघ सचिव र मगर संघ यूकेमा दुई कार्यकाल उपाध्यक्ष बनिसकेकी छन्।  

‘संघको शाखा समिति, महिला संघ र केन्द्रीय समितिमा दुई कार्यकाल बसेर सिकेको अनुभव, ज्ञान, सीपलाई उपयोग गर्दै बेलायतका मगरहरुको एकता र मगर संघ युकेको गरिमालाई अझै बलियो, दरिलो, भरिलो बनाउन र नयाँ उचाइमा लैजानका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु’, आफ्नो उम्मेद्वारीमा समर्थनको लागि अपील गर्दै सीताले भनेकी छन्।  

सीता पुन मगरको अपील:

आदरणीय मगर संघ यूकेका संरक्षकहरु, सल्लाहकारहरु, आजिवन सदस्यहरु, शाखा अध्यक्षहरु, शाखा समितिका पदाधिकारी र सदस्यहरु तथा सातौँ महाधिवसेवनमा भाग लिने सबै प्रतिनिधिज्यूहरु ।  

म सीता पुन मगरको तर्फबाट झोर्ले, जदो, सिमिङ्गपाउ तथा हार्दिक नमन।   

हाम्रो प्यारो संस्था मगर संघ यूकेको सातौँ महाधिवेसन यही शनिबार ९ अप्रिलमा सम्पन्न हुँदैछ । महाधिवेसनले संघको आगामी कार्यकालका लागि नीति कार्यक्रम बनाउनुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने गर्छ । नयाँ कार्यसमितिको अन्य सबै पदमा सर्वसम्मति भएपनि अध्यक्ष पदमा भने हामी दुई जनाको उम्मेदवारी परेको हुँदा निर्वाचनमा जानुपर्ने अवस्था आएको छ ।

सर्वप्रथम त यसबाट हजुरहरुमा पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छु । मलाई मगर संघमार्फत समुदायको सेवा गर्ने धेरै पहिलेदेखि नै चाहना थियो तर पारिवारिक जिम्मेवारी र गोरखा सैनिक श्रीमानको विभिन्न स्थानमा सरुवाका कारण भनेजस्तो गर्न पाइरहेको थिइनँ । उहाँले सेवाबाट अवकास लिनुभयो र हामीहरु केन्टमा बसोबास गर्न थाल्यौँ ।

त्यसपछि म मगर संघ केन्ट शाखामा आवद्ध भएर काम गर्न थालेँ । मैले केन्ट शाखामा साँस्कृतिक सहसचिव, मगर महिला संघ केन्टको सचिव हुँदै मगर महिला संघ केन्द्रको पनि सचिव बन्ने मौका पाएँ । 

साथै मगर संघ केन्द्रीय समितिको उपाध्यक्ष र अहिले वरिष्ठ उपाध्यक्षका रुपमा कार्यरत रही संघको सबैभन्दा ठूलो कार्यक्रम नेपाली ओपन कन्सर्टको संयोजनलगायतका विभिन्न महत्त्वूर्ण जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिसकेको छु ।

संघको शाखा समिति, महिला संघ र केन्द्रीय समितिमा दुई कार्यकाल बसेर सिकेको अनुभव, ज्ञान, सीपलाई उपयोग गर्दै बेलायतका मगरहरुको एकता र मगर संघ यूकेको गरिमा अझै बलियो, दरिलो, भरिलो बनाउन र नयाँ उचाइमा लैजानका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।  

मगर संघ यूकेको स्थापनादेखि हालसम्मको अवस्थामा ल्याउन भूमिका खेल्नुहुने सबै अग्रजहरुलाई हार्दिक धन्यवाद दिँदै उहाँहरुको कार्यकालमा शुरु भएका संघका दीर्घकालिन कार्यक्रमहरुलाई निरन्तरता दिनेछु ।

साथै संघलाई समयसँगै अगाडि बढाउन आफ्नो कार्यकालमा केही नयाँ कार्यक्रम अगाडि बढाउने योजनासमेत बनाएको छु । ती योजनाहरुका साथै संघलाई तपाईंहरुकै सहयोग सल्लाह, सुझाव र सहयोगबाट अगाडि बढाउन चाहन्छु । 

म बोलेर होइन काम गरेर देखाउन चाहन्छु । मगर संघ यूकेलाई अल्पकालिन र दीर्घकालिन योजना बनाइ नयाँ उचाइमा लैजाने मेरो ठूलो चाहना छ । युवा, महिलाहरु उल्लेख्य सहभागिता तथा मगर समुदायभित्रका विविधतालाई आत्मसम्मानका समेटी संघलाई एक ढिक्का बनाउन लागि पर्नेछु ।

अप्रिल ९ तारिख शनिबारका दिन फार्नब्रोस्थित सामुयल कोडी स्पोर्टस् हल (पुरानो ओकफाम स्कुल) मा बिहान ११ देखि साँझ ५ बजेसम्म हुने मतदानमा मलाई हजुरहरुको अमूल्य मत प्रदान गरी मलाई मगर संघ यूकेको अध्यक्ष पदमा निर्वाचित गराइदिनहुन हार्दिक विनम्र अनुरोध गर्दछु ।  

मगर संघ यूके बेलायतको नेपाली माझ एक प्रजातान्त्रिक, समावेशी तथा उदार संस्थाको रुपमा परिचित छ। सातौँ महाधिवसेवनले अनुभवी तथा जागरुक महिलालाई नेतृत्व गर्ने अवसर प्रदान गरि नौलो इतिहास रच्नेछ भन्नेमा म बिस्वस्त रही तपाईंहरुको आशिर्बाद तथा अमुल्य मतका लागि पुन: अनुरोध गर्दछु।   

सीता पुनमगर  

म्याग्दी, हाल-आसफोर्ड केन्ट  

फोन-07402017817 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू