बुधबार, मंसिर १२, २०८१
15:45 | २१:३०

पाकिस्तानी राष्ट्रपतिद्वारा संसद् विघटन, ९० दिनभित्र निर्वाचनको घोषणा

रासस/एएनआई अप्रिल ३, २०२२

इस्लामावाद, २० चैत– पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटनको प्रस्ताव सदर गरेका छन् । प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उनले आइतबार सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ ।

संसद् विघटनसँगै उनले आगामी ९० दिन भित्र निर्वाचन गर्ने घोषणा पनि गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री खानले संसद्मा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गरेका हुन् । विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उनले स्पष्ट पारे ।

पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उनी नेतृत्वको सरकारविरुद्ध आन्दोलन गर्दै आएका थिए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै खानले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गरेका छन् ।

विपक्षले आफू विरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उनले यसलाई देशमाथि गरिएको ‘धोका’ को संज्ञा दिएका थिए ।

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताएका छन् । उनले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताए ।

खानले प्रतिपक्षी दलका नेताहरूले आफूहरूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू