काउन्सिलर उम्मेदवार कमल गुरुङको अभियानमा जुट्यो तमु समाज यूके
लन्डन । तमु समाज यूकेले काउन्सिलर पदका उम्मेदवार कमल गुरुङको चुनावी अभियानमा सहयोग गरेको छ ।
तमु समाज यूकेका स्वयंसेवक सदस्यहरु गत २७ मार्च आइतबार लन्डन बरो अफ बार्नेट काउन्सिलको बर्न्टओक क्षेत्रबाट लेबर पार्टीका काउन्सिलर उम्मेदवार गुरुङको प्रतिवद्धता पत्र वितरणमा सहभागी भए । इंग्ल्याण्डमा आउंदो ५ मेमा स्थानीय निर्वाचन हुंदैछ ।
उम्मेदवार गुरुङ तमु समाज यूकेका आजीवन सदस्य तथा सल्लाहकार हुन् । समाजले उनको सहयोगका लागि विगतमा पनि यस किसिमको कार्यक्रम गरेको थियो ।
चुनावी अभियान सहयोग अन्तर्गत तमु समाज यूकेले बन्टओकस्थित लिन्डहर्स्ट पार्कमा एक वृहत कार्यक्रम आयोजना गरयो ।
उक्त कार्यक्रममा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, आमा समूहकी अध्यक्ष श्रीमति उमादेवी गुरुङ, आमा समूहकी पूर्व अध्यक्ष श्रीमति माया गुरुङ र पूर्व उपाध्यक्ष श्रीमति बिजु गुरुङ साथै अन्य पदाधिकारी तथा शुभचिन्तक सदस्यहरुको उपस्थिति थियो ।
त्यस्तै कार्यक्रममा लेबर पार्टीकै उम्मेदवार काउन्सिलर सारा कन्वे पनि सहभागी थिइन् ।
लिन्डहर्स्ट पार्कमा बिहान आयोजित भेलालाई सम्बोधन गर्दै काउन्सिलर उम्मेदवार गुरुङले आफ्नो अभियानमा सहयोग गरेकामा समाजप्रति आभार व्यक्त गरे ।
उनले आफ्नो घोषणापत्र र पर्चा वितरणबारे संक्षिप्त जानकारी दिंदै अपनाउनुपर्ने स्वास्थ्य तथा सुरक्षा सम्बन्धमा पनि अवगत गराएका थिए ।
त्यसपछि समाजका पदाधिकारीहरुले समूहगत रुपमा दिउसो १ बजेसम्म मतदाताको घर घर पुगेर पर्चा वितरण गरेका थिए ।