शुक्रबार, मंसिर १४, २०८१
05:39
|
११:२४
बिम्स्टेक क्षेत्रका जनताका निम्ति योगदान गर्ने नेपालको प्रतिबद्धता
रासस
मार्च २९, २०२२
काठमाडौं । नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई पुनरुत्थान गर्न सबै सदस्य राष्ट्रबाट नवीन प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ ।
संगठनको पाँचौँ शिखर सम्मेलनको पूर्वसन्ध्यामा कोलम्बोमा आज अपराह्न भएको सदस्य मुलुकका विदेशमन्त्रीको १८ औँ बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा नारायण खड्काले बिम्स्टेकको पुनरुत्थानका लागि नवीकरणीय संकल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यमा जोड दिएका हुन् ।
मन्त्री खड्काले जनताको जीवनस्तर उकास्न, समान अवसर सिर्जना गर्न र बंगालको खाडीको शान्ति र समृद्धिको आकांक्षा पूरा गर्न साझेदारी एवं सहकार्य गर्नुपर्ने खाँचो औँल्याएको कोलम्बोस्थित नेपालको राजदूतावासले जनाएको छ । संगठनलाई गतिशील तुल्याउन वर्तमान चुनौतीअनुरूप नवीन मार्गहरू पहिल्याउनुपर्ने खड्काले बताए । साथै उनले बिम्स्टेक क्षेत्रका जनताको विकास सुनिश्चित गर्न नेपालको रचनात्मक योगदान रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
आजै परराष्ट्रमन्त्री खड्काले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षसँग उनकै कार्यकक्षमा शिष्टाचार भेट गरे । प्रधानमन्त्री राजपाक्षले दुई देशबीचको सुमधुर र मैत्रीपूर्ण सम्बन्धको विद्यमान अवस्थाप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सहयोग अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
परराष्ट्रमन्त्रीले बिमस्टेक प्रक्रियाप्रति श्रीलंकाको प्रतिबद्धताको प्रशंसा गर्दै पारस्परिक हितका क्षेत्रमा सहयोग अभिवृद्धिका लागि श्रीलंकासंग निकट सम्पर्कमा रहेर काम गर्न नेपाल इच्छुक रहेको बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ