बिहीबार, माघ ३, २०८१
13:48 | १९:३३

बेलायत लेष्टरका दुई नेपाली संस्थाबीच एकता

नेपाली लिङ्क मार्च २८, २०२२

लन्डन । बेलायतको लेष्टर शहरमा अवस्थित दुई संस्था सृजनशील लेष्टर नेपाल यूके र टुकी नेप्लिज युथ क्लब लेष्टरबीच विगत ५ वर्षदेखिको संस्थागत विवाद अन्त्य भएको छ । 

टुकी नेप्लिज युथ क्लबका प्रतिनिधिहरु संयोजक भानुभक्त घिमिरे, सचिव शिव पराजुली, कोषाध्यक्ष दशरथ खरेल एवं सृजनशील लेस्टर नेपाल यूकेका वर्तमान अध्यक्ष नारायण फुंयाल तथा कार्यसमितिबीच सोमबार भएको दुई पक्षीय बैठकमा विवाद अन्त्यको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरिएको हो ।

सृजनशील लेष्टर नेपाल यूकेका अध्यक्ष नारायण फुंयालले दुवै पक्षबीच विगतमा भएका आआफ्ना कमीकमजोरीलाई आत्मसात गरि टुकी क्लबको लोगो सृजनशील समाजको लोगोमा समायोजन गर्ने सहमति भएको जानकारी दिए ।

‘विधानसम्मत दुई तिहाई वहुमतले पारित गर्दै दुवै पक्षबाट आजको मितिदेखि कुनै संस्थागत समस्या नआउने गरि ससम्मान समायोजन भएको छ’, फुंयालले जनाए ।

लेष्टरको ३ क्लिन रेस्टुरेन्टमा दुई चरणमा भएको उक्त बैठकको अध्यक्षता सृजनशील समाजका अध्यक्ष फुंयालले गरेका थिए । बैठकको अन्त्यमा दुवै संस्थाका प्रतिनिधिबीच पारित निर्णयमा हस्ताक्षर गरी पदीय संरचनाका लागि अर्को बैठकमा टुंगो लगाउने सहमति भएको छ ।

त्यस अवसरमा सिर्जनशिल लेष्टर नेपालका संस्थापक, संरक्षक, सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरु समेत टुकी क्लबका पदाधिकारीहरुलाई स्वागत गर्न जम्मा भएका थिए।

डायस्पोराका प्राय: नेपाली संघ-संस्थामा विवाद र विभाजन सामान्य बनिरहेका बेला बेलायतको लेष्टरस्थित दुई नेपाली संस्थाले एकताको सकारात्मक सन्देश दिएका छन् ।  

‘लेष्टरका नेपालीबीचको एकता र समझदारीले अरुलाई पनि प्रोत्साहन मिलोस् भन्ने हाम्रो चाहना छ’, एकताको लागि विशेष पहल गरेका सृजनशील लेष्टर नेपालका अध्यक्ष फुयाँलले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू