शुक्रबार, मंसिर १४, २०८१
04:45 | १०:३०

अष्ट्रेलिया जानेको स्वास्थ्य परीक्षण दायरा बढाउन आग्रह

रासस मार्च २४, २०२२

अष्ट्रेलियाको सिड्नी हार्वर । तस्बिर एपी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन आग्रह गरेका छन् ।

सीमित स्थानबाट मात्र परीक्षण हुँदा रोजगारी र अध्ययनका लागि अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षणको पालो ढिलो आउने र त्यसले समस्या पर्ने गरेको भन्दै मन्त्री खतिवडाले त्यसलाई तत्काल दायरा बढाई सहज गराउन आग्रह गरेका हुन् । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्ने क्रममा मन्त्री खतिवडाले सो कुरामा जोड दिएका हुन् ।

भेटमा दुई देशबीच सन् १९६० देखिको कूटनीतिक सम्बन्ध, नेपाललाई अष्ट्रेलियाले स्वास्थ्य क्षेत्रमा गरेको सहयोग र आगामी दिनमा हुनसक्ने सहयोग आदानप्रदान तथा सहकार्यबारे छलफल भएको थियो ।

छलफलमा मन्त्री खतिवडाले स्वास्थ्यका क्षेत्रमा अष्ट्रेलियाले नेपाल सरकारलाई गर्दै आएको सहयोगप्रति धन्यवाद प्रकट गरे । भेटमा मन्त्री खतिवडाले नेपालबाट अध्ययन र रोजगारीका लागि अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण सिमित स्थानबाट मात्र हुँदा नेपालीले दुःख पाइरहेको भन्दै धेरै ठाँउबाट परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेको उनका प्रेस सल्लाहकार शान्तराम बिडारीले जानकारी दिए ।

सो अवसरमा राजदूत भोल्कले उक्त गुनासो चाँडै सम्बोधन गर्ने आश्वासन दिए । “अन्यत्रबाट पनि यस विषयमा कुरा आएको छ, स्वास्थ्य परीक्षणको विषय त्यहाँको गृह मन्त्रालयसंग सम्बन्धित छ, नेपालीलाई कसरी सहज हुन्छ, त्यसतर्फ कदम चाल्छु”, उनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू