बिहीबार, माघ ३, २०८१
17:19 | २३:०४

लन्डन पशुपतिनाथ मन्दिरमा सामूहिक व्रतवन्ध गराइंदै

नेपाली लिङ्क मार्च १७, २०२२

लन्डन पशुपतिनाथ मन्दिर

लन्डन- लन्डनको पशुपतिनाथ मन्दिरमा आगामी अप्रिल पहिलो साता सामूहिक व्रतवन्ध गराइने भएको छ ।

अप्रिल तीन तारिख आइतबारका दिन सामूहिक रुपमा १० जनासम्म बटुकको चुडाकर्म गर्न लागिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अध्यक्ष दासुराम पाण्डेका अनुसार पशुपतिनाथ मन्दिरले यस वर्ष पहिलोपटक सामूहिक व्रतवन्ध गराउन लागेको हो । यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिंदै जाने र झन् व्यापक रुपमा लैजाने सोच राखिएको उनले बताए ।

सामूहिक व्रतवन्धमा भाग लिन चाहनेहरुका लागि यथाशिघ्र मन्दिर समितिलाई सम्पर्क राख्न आग्रह गरिएको छ । ‘फर्स्ट कम, फर्स्ट सर्भ’ का आधारमा पहिला आउने १० जनालाई अवसर दिइनेछ ।

सामूहिक व्रतवन्धमा भाग लिने हरेक एक बटुकका १० जनासम्म आफन्तले मन्दिरमै उपस्थित भएर आशिर्वाद दिन सक्नेछन् । उनीहरुका लागि पूजाका न्यूनतम सामग्री र प्रसाद व्यवस्था समेत मन्दिर समितिकै तर्फबाट गरिनेछ।

लन्डन पशुपतिनाथ मन्दिर

सामूहिक व्रतवन्ध कार्यक्रमले बेलायतबासी धेरै नेपाली लाभान्वित हुने अपेक्षा मन्दिर समितिको छ ।

‘बेलायतजस्तो ठाउँमा घरघरमा व्रतवन्ध गर्न सहज छैन, खर्चिलो पनि हुन्छ । व्रतवन्धकै लागि धेरैजना नेपाल जाने गरेको पनि देखिन्छ, जसका लागि समय अभाव र अरु झञ्झटहरु पनि छन्’, अध्यक्ष पाण्डे भन्छन्, ‘यस्तै झन्झटको कारण कतिपयको व्रतवन्ध ढिलो हुनेदेखि कतिको त्यत्तिकै छुट्ने गरेको हामीले देखेका छौं । सामूहिक व्रतवन्धको कार्यक्रमले यस्ता सबै असहजताहरुबाट मुक्ति मिल्नेछ भन्ने हाम्रो विश्वास छ।’

मौलिक परम्परा र संस्कारको संरक्षण तथा प्रवद्र्धनका लागि पनि सामूहिक व्रतवन्धले सहयोग पुर्याउने आशा राखिएको छ।

सामूहिक व्रतवन्धमा सहभागिताका लागि मन्दिर समितिले बेलायतवासी नेपालीहरुलाई आव्हान गरेको छ । सहभागिताका लागि ईच्छा हुनेहरुले मन्दिर समितिका पदाधिकारीलाई निम्नानुसारका नम्बरमा सम्पर्क राख्न सक्नेछन्।

अध्यक्ष दासुराम पाण्डे : 07859052995
पण्डित निलहरि घिमिरे: 07838820518
उपाध्यक्ष सरिता पौडेल: 07853666734

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू