बिहीबार, पुष ४, २०८१
09:12 | १४:५७

बेलायतमा यात्रा प्रतिबन्ध सम्बन्धि सबै नियम हट्ने

नेपाली लिङ्क मार्च १५, २०२२

लन्डन । झन्डै दुई वर्ष अघिदेखि कोभिड १९ का कारण बेलायतले लगाउंदै आएको यात्रा प्रतिबन्ध अब पूर्ण रुपमा खुला गरिने भएको छ । यसअघि नै यात्रा सहज पार्दै विभिन्न किसिमका प्रतिबन्ध हटाइए पनि बेलायत आउने यात्रुले प्यासेन्जर लोकेटर फारम, पूर्ण रुपमा खोप नलगाएकाहरुले यात्रा गर्नुअघि कोभिड टेस्ट गर्नुका साथै यहाँ आइसकेपछि पीसीआर टेस्ट गर्नुपर्ने जस्ता नियम कायमै छ ।

आउँदो शुक्रबार मार्च १८ बाट बाँकी रहेका सम्पूर्ण प्रतिबन्धहरु अन्त गरिने बेलायती यातायातमन्त्री ग्रान्ट शाप्सले बताएका छन् । स्कटल्याण्ड र वेल्सले पनि बाँकी प्रतिबन्ध हटाउने विषयमा गरेको बेलायतको निर्णयप्रति सहमत जनाएका छन् ।

शुक्रबार बिहान ४ बजेबाट बेलायत आउने यात्रुहरुले कोभिडविरुद्धको खोप नलगाएपनि कोभिड सम्बन्धि कुनैपनि परीक्षण तथा कागजपत्र पेश गर्नुपर्ने छैन । तर बेलायतबाट बाहिर जानेहरुले भने सम्बन्धित मुलुकको नियम पालना गर्नुपर्नेछ । सरकारको पछिल्लो कदमलाई ट्राभल्स व्यवसायीहरूले स्वागत गरेका छन् । बेलायत यात्राका लागि सुरक्षित रहेको विश्वभर सन्देश गएको व्यवसायीहरु बताउछन् ।

तर, बेलायतमा कोरोना संक्रमण अझै पनि समाप्त नभएकाले कतिपय मानिसहरुले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय एक सातामा चार लाख भन्दा बढी मानिस संक्रमित हुने गरेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकमा उल्लेख छ ।

हालसम्म बेलायतमा करिब दुई करोड मानिसहरु संक्रमित भएका छन् । यसैगरि एकसातामा सात सय भन्दा बढी मानिसहरुको कोरोनाका कारण मृत्यु हुने गरेको छ । हालसम्म बेलायतमा एक लाख ६२ हजार भन्दा बढीको कोरोनाबाट मृत्यु भएको छ ।

बेलायतमा ९१.७ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो डोज र ८५.६ प्रतिशतले खोपको दोस्रो मात्रा लगाएका छन् । यसैगरी ६७ प्रतिशतले तेस्रो अर्थात बुस्टर डोज लगाएको सरकारी तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू