शुक्रबार, माघ ४, २०८१
19:47 | ०१:३२

लन्डन दूतावासमा सेना दिवस, बटुल्यो नेपाली सेनाले प्रशंसा

नेपाली लिङ्क मार्च ९, २०२२

लन्डन-लन्डनस्थित नेपाली दूतावासमा मंगलबार साँझ एक विशेष समारोहबीच नेपाली सेना दिवस मनाइएको छ ।  

बेलायत सरकार तथा बेलायती सेनाका अधिकारी, बेलायतस्थित विभिन्न मुलुकका कूटनीतिज्ञ, सैन्य अधिकारी, बेलायती गोर्खा सैनिकहरु र नेपाली समुदायका प्रतिनिधि समेतको सहभागितामा सेना दिवस मनाइएको हो ।

समारोहका प्रमुख अतिथि बेलायती सेनाका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डल (ओबीइ) ले नेपाली सेनाले आफ्नो देशभित्र मात्र नभइ अन्तरराष्ट्रिय स्तरमा समेत ठूलो प्रतिष्ठा कमाउन सफल भएको बताए।

संयुक्त राष्ट्रसंघको शान्तिसेनामा सहभागिताका हिसाबले नेपाली सेना संसारकै दोस्रो स्थानमा रहेको उनले स्मरण गरे ।  

दुई देशबीचको ऐतिहासिक सम्बन्ध र गोर्खाहरुको नाताबाट पनि बेलायती र नेपाली सेनाबीच थप निकट सम्बन्ध र सहकार्य रहंदै आएको लेफ्टिनेन्ट जनरल वार्डलले बताए।

समारोहका विशेष अतिथि बेलायतका पूर्व रक्षा राज्यमन्त्री लर्ड मार्क लांकास्टरले बेलायती र नेपाली सेनाबीचको सहकार्य र सम्बन्धलाई आगामी दिनमा अझै व्यापक बनाउंदै लैजान बेलायत प्रतिवद्ध रहेको जनाए ।  

समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायत र नेपालबीचको ऐतिहासिक कूटनीतिक मित्रतामा दुई देशको निकट सैन्य सम्बन्धले समेत विशेष भूमिका निर्वाह गरेको बताए ।

समारोहमा स्वागत मन्तव्य दिंदै मिलिटरी अट्याची कर्णेल रत्नबहादुर गोदारले नेपाली सेना इतिहासदेखि नै जस्तोसुकै परिस्थितिमा पनि नेपालको शान्ति, समृद्धि र स्थिरताको पक्षमा पहरेदारको रुपमा उभिँदै आएको बताए ।  

नेपाली सेना शान्ति सुरक्षाका साथै देशभित्र दैवीप्रकोपमा राहत तथा उद्धार, राष्ट्रनिर्माणका विभिन्न कार्यहरुदेखि संयुक्त राष्ट्र संघको मिसनमार्फत् विश्व शान्तिका लागिसम्म खटिंदै आएको उनले सुनाए ।  

त्यस अवसरमा नेपाली सेना दिवसको खुशीयालीमा प्रमुख अतिथि, विशेष अतिथि, राजदूत र मिलिटरी एट्याचीबाट संयुक्त रुपमा केक समेत काटिएको थियो । समारोहको सञ्चालन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले गरेकी थिइन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू