बिहीबार, मंसिर १३, २०८१
20:34 | ०२:१९

एनआरएनए निर्वाचन: मनोनयन दर्ता शुरु

अध्यक्षको उम्मेदवारी शुल्क १० लाख

नेपाली लिङ्क मार्च ७, २०२२

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयां नेतृत्वको निर्वाचनको लागि मनोनयन दर्ता आजबाट शुरु भएको छ ।

प्रतिनिधि छनोट लगायतका मुद्धामा कुल आचार्य पक्षको विमतिका कारण यसअघि कयौं पटक रोकिएको निर्वाचन प्रक्रिया अहिले अघि बढाइएको छ ।  

संघको निर्वाचन समितिका प्रमुख भिमसेन बन्जाराका अनुसार पूर्वनिर्धारित कार्यतालिका अनुसार आज (सोमबार) देखि भोलि (मंगलवार) साँझ ५ बजेसम्म मनोनयन दर्ता खुला  रहनेछ । उम्मेदवार हुन चाहने व्यक्तिले अनलाइन तथा प्रत्यक्ष संघको कार्यालयमा उपस्थित भएर आफ्नो उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।

संघको अध्यक्ष सहित ५१ पदाधिकारीका लागि मनोनयन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।

गत अक्टोबरका लागि तय गरिएको निर्वाचन प्रतिनिधि विवादका कारण रोकिएको थियो । निर्वाचन समितिले मार्च २१ र २२ तारिखका लागि अनलाइन निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले सोमबार बिहान अन्तिम ३५९० जनाको मतदाता नामावली समेत सार्वजनिक गरेको छ ।

संघको नयाँ नेतृत्वको लागि अध्यक्षमा डा. बद्री केसी, रविना थापा र कुल आचार्यले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

संघको अध्यक्षको उम्मेदवार बन्न १० लाख नेपाली रुपैयाँ वा अमेरिकी डलर १० हजार, महिलासहित उपाध्यक्षहरुका लागि ७ लाख रुपैयाँ वा अमेरिकी डलर ७ हजार, महासचिवका लागि ६ लाख रुपैयाँ वा अमेरिकी डलर ६ हजार, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख रुपैयाँ वा अमेरिकी डलर ५ हजार, सह–कोषाध्यक्षका लागि ४ लाख रुपैयाँ वा अमेरिकी डलर ४ हजार, महिला, युवा र क्षेत्रीय संयोजकका लागि ३ लाख ५० हजार रुपैयाँ वा अमेरिकी डलर ३ हजार ५ सय, महिला, युवा र क्षेत्रिय उपसंयोजकका लागि २ लाख ५० हजार रुपैयाँ वा २ हजार ५ सय डलर र आईसिसि सदस्यहरुका लागि १ लाख रुपैयाँ वा अमेरिकी डलर एक हजार तोकिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू