शुक्रबार, माघ ४, २०८१
19:42 | ०१:२७

गोर्खा वार्ताको गृहकार्यमा जुटे दूतावास र गोर्खा संगठन

वार्ताको रणनीति तयार गर्न दूतावास र गोर्खाहरुबीच छलफल

नेपाली लिङ्क मार्च ५, २०२२

लन्डन । भूतपूर्व गोर्खाहरुको मागका सम्बन्धमा बेलायत र नेपालबीच सरकार स्तरमा हुन लागेको वार्ताको लागि गृहकार्य शुरु गरिएको छ । शुक्रबार लन्डनस्थित नेपाली दूतावासले भूपू गोर्खा संगठनका अभियन्ताहरुसँग वार्ताको तयारीबारे छलफल गरेको छ । 

त्यसक्रममा चांडै शुरु हुने आशा गरिएको वार्तामा कसरी अगाडि बढ्ने विषयमा राजदूत ज्ञानचन्द्र आचार्य र गोर्खा संगठनका प्रतिनिधिहरुबीच व्यापक सरसल्लाह भएको दूतावासकी प्रवक्ता एवम् उपनियोग प्रमुख रोशन खनालले जानकारी दिइन् ।

त्यस्तै, वार्तामा गोर्खा संगठनका तर्फबाट हुने सहभागिताका विषयमा पनि छलफल गरिएको थियो । गोर्खाहरुको प्रतिनिधित्व गर्दै मेजर जुद्ध गुरुङ वार्तामा सहभागी हुने निश्चित गरिएको छ भने विषयगत रुपमा निर्देशक कमिटीबाट प्रतिनिधित्व हुने गरी प्रतिनिधि पठाइनेछ ।

छलफलमा दूतावासले वार्ता प्रक्रिया शुरु गर्न आग्रह गर्दै बेलायती रक्षा मन्त्रालयलाई पत्र पठाउने सल्लाह भएको गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए । 

गोर्खाहरुको अधिकार प्राप्तिका लागि सम्पूर्ण गोर्खा संगठनहरु अब एक ढिक्का भएर अघि बढ्ने भन्दै राईले बेलायत सरकारबाट फेरि पनि छलछाम गर्न खोजिए आफूहरु संयुक्त रुपमै संघर्षमा उत्रिने चेतावनी दिए । 

दूतावाससँगको छलफलमा गोर्खा सत्याग्रह संघर्ष समिति, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस), नेप्लिज एक्स सर्भिसमेन एशोसिएसन (नेसा) र गोर्खा जस्टिस ग्रुपआबद्ध दश जना गोर्खा अभियन्ता सहभागी थिए । दूतावासबाट राजदूतसंगै वार्ता समितिमा सदस्य समेत रहेका उपनियोग प्रमुख रोशन खनाल र  मिलिटरी एट्याची रत्नबहादुर गोदारको सहभागिता थियो ।

यहि साता मात्रै नेपाल सरकारले गोर्खा वार्ताका लागि राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा नेपाल सरकारको वार्ता टोली गठन गर्ने निर्णय गरेको थियो । वार्ता समिति गठनलगत्तै राजदूत आचार्य गोर्खा संगठनका अभियन्ताहरुसँगको छलफलमा जुटेका हुन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू