ब्रिटिश सेनामा गोर्खा कटौती, २ सय १८ थपिए
लन्डन । ब्रिटिश सेनामा २ सय १८ गोर्खा भर्ती भएका छन् । बेलायती सेना मुख्यालयले ब्रिटिस आर्मीको ‘इन्टेक–२०२२’ अन्तर्गत उनीहरुलाई छानेको हो । फोर्सेस डट नेटका अनुसार यसपटक १२ हजार बढी नेपाली युवाले आवेदन दिएका थिए ।
मुख्यालयले यसअघि यो वर्ष ब्रिगेड अफ गोर्खाजमा २ सय ३० जना छनोट गर्ने बताएपनि अन्तिम प्रतिष्पर्धामा संख्या कटौती भएको जनाइएको छ ।
त्यसैगरि, सिंगापुर प्रहरीमा १ सय ४० जना नेपाली भर्ती भएका छन् ।
यसअघि ‘इन्टेक–२०२०’ मा ब्रिटिस आर्मीमा ४ सय ३२ र सिंगापुरमा २ सय २० युवा भर्ती लिइएको थियो ।
क्षेत्रीय छनोट प्रतिष्पर्धामा ७४ जिल्लाका ८ हजार युवा सहभागी थिए ।
छानिएका सिपाहीलाई बुधबार पोखरास्थित ब्रिटिस क्याम्पमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटको उपस्थितिमा ब्रिगेड अफ गोर्खाजका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डलले ‘एटेस्टेसन परेड’ सहित शपथ गराएका छन् ।
छनोट भएका युवा बेलायत आएर क्याट्रिकमा ९ महिने प्रशिक्षण लिनेछन् ।
सन् १८१५ देखि ब्रिटिस आर्मीमा नेपाली युवा भर्ती गर्न थालिएको हो । कोरोना महामारीका कारण ‘इन्टेक–२०२१’ मा अघिल्लो वर्ष अन्तिम छनोटबाट बाहिरिएकालाई मात्र भिड्ने अवसर दिइएको थियो । जसमा ब्रिटिसमा ३ सय ४० र सिंगापुरमा १ सय ३४ जना भर्ती भएका थिए ।