नेपालमा सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार २०० ले बढेर रु ९६ हजार ७०० पुगेको छ । फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला रु ९५ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार २०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९५ हजार तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७८ डलर आसपास कारोबार भइरहेको छ ।