काठमाडौं । बुधबार नेपालमा थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एकै दिनमा यति ठूलो संख्यामा संक्रमित थपिएको यो पहिलोपटक हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब देशमा संक्रमितको कुल संख्या ८ सय ८६ पुगेको छ ।
नयाँ संक्रमितमध्ये ३८ जनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।
बुधबार भेरी अस्पतालको प्रयोगशालामा १६ जना, धरानस्थित प्रयोगशालामा ११ जना, विराटनगरस्थित प्रयोगशालामा १७ जना, हेटौडाको प्रयोशालामा आठ जना र पोखराको प्रयोगशालामा चार जनामा संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म कुल संक्रमितमध्ये पुरुष ७ सय ९६ र महिला ९० छन् । संक्रमितहरु विभिन्न ४७ जिल्लाका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने १ सय ८३ जना निको भएर घर फर्किएका छन् ।