शुक्रबार, माघ ४, २०८१
14:56 | २०:४१

एनआरएनए इङ्ग्ल्याण्डको ‘भर्चुअल रनफेस्ट’ मा उत्साहजनक सहभागिता

फेब्रुअरी ९ सम्म म्याद थप

नेपाली लिङ्क फ्रेब्रवरी ६, २०२२

लन्डन । गैरआवासीय नेपाली संघ राज्य समन्वय परिषद इंग्ल्याण्डले आयोजना गरेको ‘भर्चुअल दौड’ प्रतियोगीतामा उत्साहजनक सहभागिता रहेको आयोजकले बताएका छन्  । कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले शनिबार सांझ आयोजित पत्रकार सम्मेलनमा जापान, अमेरिका तथा युरोपबाट समेत सहभागिता रहेको एनआरएनए इङ्ग्ल्याण्डका अध्यक्ष एलबीजेड गुरुङले जानकारी दिए ।

सहभागितामा धेरैले चासो दिएका कारण आउँदो फेब्रुअरी ९ तारिखसम्म म्याद थप गरिएको पनि उनले बताए । ‘स्वास्थ्य नै धन’ भन्ने नाराकासाथ रनफेष्टले मानसिक र शारीरिक स्वास्थ्यलाई थप मनोबल पुर्याउने र महामारीका बेला सबैलाई शारीरिक र मानसिक रूपले तन्दुरुस्त बनाउन हामीले भर्चुअल रुपमा भएपनि कार्यक्रम गरिएको गुरुङले बताए ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले भर्चुअल दौड प्रतियोगिताको समिक्षा गर्दै ‘स्वास्थ्य नै धन’ हो भन्ने कुरालाई मनन गर्दै  इङ्ग्ल्याण्ड राज्य समन्वय परिषदले संस्थागत गतिविधिलाई सिर्जनात्मक ढंगले अघि बढाएको र सिंगो समुदायको स्वास्थ्यबारे चेतना जगाउन रनफेष्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

रनफेस्टले खेलकुदको माध्यमबाट स्थापित हुन थप सहयोग पुग्ने अध्यक्ष मगरले बताए । मगरले यसलाई थप निरन्तरता दिंदै अन्य विभिन्न संस्थासंग मिलेर अगाडि बढ्न सुझाउँदै आफ्नो सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

पत्रकारहरुको जिज्ञासा मेटाउदै प्रतियोगिताका संयोजक बलराम सुवेदीले कोरोना महामारीका बेला भएका शारीरिक र मानशिक तनावबाट मुक्ति दिलाउन यो कार्यक्रम सहयोगी हुने बताए । यो एउटा भर्चुअल दौड हो, आफ्नो इच्छा अनुसार कुनै पनि समयमा पूरा गर्न सकिनेछ । आफ्नै घर-गार्डेन, सडक, पार्क, जिम, ट्रयाक वा ट्रेडमिलमा समेत दौड पूरा गर्न सकिनेछ ।

प्रवक्ता डा. विशाल गुरूङले स्वागत मन्तव्य दिंदै रङफेष्टमा सहभागिता जनाउन सबैलाई आग्रह गरे । करिब पांच सय जना सहभागी बनाउने लक्ष्य रहेकोमा लक्ष्य नजिक पुगेको आयोजकले बताएका छन् । कार्यक्रममा https://nrna-escc.org/sign-up/ मा गएर अनलाइन माध्यमबाट विश्वभरका मानिसले दर्ता गर्न सक्नेछन् ।

रजिस्ट्रेशन गर्नका लागि १० पाउण्ड शुल्क तिर्नुपर्नेछ । रजिष्ट्रेशन पूरा गरिसकेपछि फेब्रुअरी १५ तारिखसम्म पाँच किलोमिटर दौडेर, हिँडेर वा साईकल गरेर रनफेस्ट पूरा गरेको प्रमाण सोही वेभसाइट मार्फत बुझाउनुपर्ने हुन्छ । सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसपटक वयस्कहरुमा कार्यक्रम लक्षित गरिएको र यसपछि केटाकेटीका लागि पनि निशुल्क सञ्चालन गरिने योजना छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू