निर्वाचन गर्न हदैसम्मको लचकता अपनाउँदा पनि केही साथीहरु शक्तिकेन्द्र पुगे: डा. केसी
लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष प्रत्यासी डा. बद्री केसीले निर्वाचन सम्पन्न गर्न हदैसम्मको लचकता अपनाउँदा पनि केही शक्ति केन्द्रको आडमा साइबर क्राइमको नाममा झूठा र आधारहीन आरोपमा उत्रिएको बताएका छन् ।
उनले निर्वाचनमा उम्मेदवारी घोषणा गरेका संघका पदाधिकारीको मनोबल गिराउने मनसाय राखेर त्यस्ता गतिविधि भएको दाबी गरे ।
‘यी सबै गतिविधिलाई निर्वाचन बिथोल्ने प्रपञ्चकै रुपमा हामीले लिएका छौँ । अन्यथा, संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी २८ तारिखमा सम्पन्न गर्न सम्पूर्ण आन्तरिक तयारी पुरा भइसकेको अवस्थामा पनि विभिन्न प्राविधिक समस्या देखाएर निर्वाचन गर्न नदिनुपर्ने कुनै स्पष्ट आधार यहाँ देखिँदैन’- केसीले आइतबार एक पत्रकार सम्मेलन गरि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्ति जस्ताको तस्तै:
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन सम्बन्धमा चौतर्फी चासो एवं चिन्ता व्यक्त भइरहेको छ । तर, अथक, प्रयत्न, हदैसम्मको लचकता अपनाउँदा पनि निर्वाचन अझै अन्योलपूर्ण छ ।
गत वर्षको जुलाई ३१ भित्रै ६४ एनसीसीको निर्वाचन सम्पन्न भई आइसीसी महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लागिसकेको यहाँहरुलाई विदितै छ । यस बीचमा महाधिवेशन प्रतिनिधिका विषयमा केही एनसीसीमा देखिएको असन्तुष्टिले वर्तमान असहज अवस्था सिर्जना भएको तर यस परिस्थतिलाई सहज बनाउन र असन्तुष्टि समेत सम्बोधन भइसकेकोको अवस्थामा पनि निर्वाचनलाई अनिर्णयको बन्दी बनाइराख्नु वास्तवमा न्यायोचित छैन ।
यहाँ म स्मरण गराउन चाहन्छु कि संघका सबै पक्षलाई समेटेर सबैखाले असन्तुष्टिको अन्त्य गर्ने उद्देश्यले नै पटक पटक समस्या समाधानका लागि पहल भएका छन् । हाम्रा प्रयासहरु विधि, विधानसम्मत छन् भन्ने ठहर पाटन उच्च अदालतले समेत गरिसकेको छ ।
त्यस उपरान्त पनि संघका अध्यक्ष कुमार पन्तद्वारा गठित ५ सदस्यीय समितिले अघिल्लो महिनाको (जनवरी) पहिलो साता पनि सबै पक्षसँग घनीभूत छलफल गरी ७ बुँदे सहमति समेत जुटाइएको विदितै छ ।
यस बाहेक पनि आइसीसी बैठकको निर्णय, विधान व्याख्या समितिको निर्णय,र पछिल्लो पटक संरक्षक शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनले समेत प्रतिनिधि छनोट वैधानिक भएको आधारहरु पुष्टि गरिसकेको छ ।
तर, यी सबै आधारहरुलाई वेवास्ता गरी पटक पटक निर्वाचनलाई अन्योलपूर्ण बनाएर विधि,पद्धत्ति, वैधानिक व्यवस्था विपरित मार्गमा जानु कत्तिको उचित होला ? र भोलिका दिनमा कस्तो नजीर स्थापित गर्ला हामी सबैले आ–आफ्नो स्थानबाट आत्मसमिक्षासहित सोच–विचार गर्नैपर्ने देखिएको छ ।
निर्वाचन सम्पन्न गर्न हदैसम्मको लचकता अपनाउँदा पनि केही शक्ति केन्द्रको आडमा साइबर क्राइमको नाममा झूठा र आधारहीन आरोप लगाई निर्वाचनमा उम्मेदवारी घोषणा गरेका संघका पदाधिकारीको मनोबल गिराउने मनसाय समेत देखिएको छ । तर, हामी विश्वस्त छौँ कि यसमा पनि सत्यकै जित हुनेछ ।
यी सबै गतिविधिलाई पनि निर्वाचन बिथोल्ने प्रपञ्चकै रुपमा हामीले लिएका छौँ । अन्यथा, संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी २८ तारिखमा सम्पन्न गर्न सम्पूर्ण आन्तरिक तयारी पुरा भइसकेको अवस्थामा पनि विभिन्न प्राविधिक समस्या देखाएर निर्वाचन गर्न नदिनुपर्ने कुनै स्पष्ट आधार यहाँ देखिँदैन ।
निर्वाचनमा भएको ढिलाईले विश्वभरका ३६०० बढी गैरआवासीय नेपालीहरुको मतदानको अधिकार मात्रै खोसिएको छैन उनीहरु संस्थाप्रति उदासिन बनेका छन् । साथै, यस अन्योलले समग्र गैरआवासीय नेपाली संघको छवी धमिलिँदै विकृतिहरु बढेको भान परेको छ ।
संघलाई वैधानिक रुपमा अघि बढाउन पनि निर्वाचनको विकल्प छैन । त्यसैले संघको निर्वाचनलाई सुनिश्चित गर्न निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्वाचन समिति समक्ष माग गर्दछु ।
यसका साथै, महाधिवेशन प्रतिनिधिमा देखा परेको असन्तुष्टि सम्बोधन गर्न यसअघि गठित घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलको समेत समयावधि सकिसकेको हुँदा तत्काल आइसीसी कार्यसमितिको बैठक बोलाई थप निर्णय गर्न समेत आग्रह गर्दछु ।
डा. बद्री केसी
अध्यक्ष (प्रत्यासी), गैरआवासीय नेपाली संघ
६ फेब्रुअरी २०२२