लन्डन दूतावासमा मार्चदेखि इ-पासपोर्ट
लन्डन । लन्डनस्थित नेपाली दूतावासले आउंदो मार्चदेखि विद्युतीय राहदानी (इ पासपोर्ट) वितरण गर्ने भएको छ ।
नेपालमा गत नोभेम्बर तेश्रो सातादेखि नै शुरु उक्त राहदानी लन्डनमा मार्च दोश्रो वा तेश्रो सातादेखि वितरण गर्न लागिएको कार्यवहाक राजदूत रोशन खनालले जानकारी दिइन् ।
यसका लागि आफूले राहदानी विभागसंग समन्वय गरिरहेको पनि खनालले बताइन् । इ पासपोर्टका लागि बायोमेट्रिक दिनुपर्ने भएकाले सेवाग्राहीलाई लन्डन दूतावासमै आएर आवेदन दिन आवश्यक हुने उनको भनाइ छ ।
‘आयरल्याण्ड र माल्टामा रहनुभएका नेपालीलाई यता भिजा लगाएर आउन त्यति सहज नभएकाले हामी नै त्यहीं गएर इपासपोर्ट (कन्सुलर सेवा) दिने सोच बनाएका छौं । स्कटल्याण्ड पनि टाढा भएकाले घुम्ती सेवा दिने हाम्रो योजना छ’, कार्यवहाक राजदूत खनालले नेपाली लिंकसंग भनिन् । विद्युतीय राहदानी ३४ र ६४ पृष्ठका हुन्छन् भने दस्तुर एमआरपीकै सरह हुनेछ ।
कार्ड पेमेन्ट लिन शुरु गरिसकेको दूतावास आफ्नो सेवाप्रवाह सरलीकृत, छिटो र चुस्त बनाउन प्रयासरत छ । कागजपत्र पुगे आवेदन दिएको उही दिनमा कन्सुलर सेवा प्रदान गर्ने दूतावासको प्राथमिकता रहेको खनालले बताइन् ।
विद्युतीय राहदानी एमआरपीभन्दा थप गुणस्तरिय, भरपर्दो, सुरक्षित र अन्तर्राष्ट्रियस्तरमा बढी प्रयोगमा आइरहेको राहदानी मानिन्छ । इ-पासपोर्टको डेटापेज पोलिकार्वोनेट, चिप्समा बायोग्राफिक डेटा र विभिन्न सुरक्षा विशेषता संग्रहित हुन्छ ।
राहदानी विभागका अनुसार, हालको राहदानीमा भएका कुराहरु अतिरिक्त विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औंठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरण हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन् । यो हालसम्म संसारमा विभिन्न मुलुकमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ ।
आइकाओ पिकेडीमार्फत सूचनाहरु रुजु हुने हुँदा यो राहदानी विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुने विश्वास विभागको छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वतः खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले नोभेम्बर तेश्रो साता एक कार्यक्रमबीच संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गरेर यसको उद्घाटन गरेका थिए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार सुरक्षाका सबै विशेषता समेटिएको गुणस्तरीय राहदानी जारी गरिएको नेपाल सरकारको भनाइ छ । विदेशस्थित ४० नेपाली नियोग र नेपालमा सबै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी जारी गरिने छ ।
एघार वर्षअघिसम्म हस्तलिखित राहदानी प्रयोग गर्ने नेपाल त्यसपछि एमआरपी हुँदै अब इ–पासपोर्ट प्रयोग गर्ने देशमा रूपान्तरण भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५