बिहीबार, मंसिर १३, २०८१
05:44 | ११:२९

बङ्गलादेशमा क्वारेन्टाइन अवधि कटौती 

रासस-एएनआई जनवरी ३१, २०२२

ढाका–बंगलादेशमा क्वारेन्टाइनको समयावधि कटौती गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले यसअघि १४ दिन कायम गरिएको क्वारेन्टाइनको समयावधि कटौती गरेर १० दिन बनाएको हो ।

निर्देशनालयका प्रवक्ता प्रा.डा. नाज्मुल इस्लामले विज्ञहरूको सुझावका आधारमा क्वारेन्टाइन बस्ने समयावधि कटौती गरिएको स्पष्ट पारे ।

महामारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कुनै व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भयो भने १० दिन मात्रै आइसोलेसनमा बस्नुपर्ने नियम बनाइएको छ ।’

१० दिनपछि लक्षणहरू देखिएपनि क्वारेन्टाइनबाट बाहिर निस्कन र कार्यालय जान पाउने उनको भनाई छ ।

यसअघि कोरोना भाइरसबाट संक्रमित भएका व्यक्ति निको भएर कार्यालय फर्कंदा पिसिआरको नेगेटिभ नतिजा आएको प्रमाण देखाउनु पर्ने नियम बनाइएको थियो । अबदेखि भने त्यस्तो नियम लागू नहुने भएको छ । बरु कम्तीमा एक पटक चिकित्सकलाई भेट्न सुझाव दिइएको छ ।

निर्देशनालयले पछिल्लो २४ घण्टामा बंगलादेशमा १२ हजार १८३ जना नयाँ संक्रमित भएको जनाएको छ । सोही अवधिमा अरु ३४ जनाको कोरोना भाइरसकै कारणले मृत्यु भएको छ । यो सङ्ख्या गत सेप्टेम्बर २२ पछिकै सबैभन्दा धेरै भएको निर्देशनालयको दावी छ ।

स्वास्थ्य मन्त्री जाहिद मालेक्वेले मृतक र संक्रमितको सङ्ख्या बढ्दै गएकाले उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू