मोटोपनले बढाउंदैछ मधुमेह
संसारभर मधुमेहका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गैरहेको छ । हालै प्रकाशित तथ्यांकअनुसार बेलायतमा गत दशकमा मात्रै १२ लाख मानिस मधुमेहले पीडित भएका छन् र अरु करिव छ लाख मानिसलाई मधुमेह भएको छ भन्ने थाहै नभई बाचिरहेका अनुमान गरिएको छ ।
यहि अनुरुप मधुमेह बढ्दै गए बेलायतको स्वास्थ्य सेवा नै एकदिन टाट पल्टन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । बेलायतमा बर्षमा १० अर्ब पाउण्ड मधुमेहका लागि खर्च गरिन्छ । त्यसैले उपचार साथै मधुमेहको रोकथाम गर्नु महत्वपूर्ण हो ।
यो तथ्याङ्क अनुसार ९० प्रतिशत टाइप २ मधुमेहका बिरामी छन् । यसको मुख्य कारण धेरै या अत्यधिक मोटोपन र कम क्रियाशील जीवनयापन हुन आउंछ । अफ्रिकन, क्यारेवियन र दक्षिण एशियाका केही जातीय समूदायका मानिसहरुमा मधुमेह अरु बढी देखिन्छ ।
मधुमेह भनेको केहो ?
जब रगतमा ग्लुकोज (चिनी) को लेभल धेरै बढी हुन्छ तब मधुमेह हुन्छ । यस अवस्थामा शरीरले राम्रोसँग ग्लुकोज प्रयोग गर्न असमर्थ हुन्छ । शरीरले ग्लुकोजलाई शक्तिमा बदल्ने काम जे जति गर्नुपर्ने हो त्यति गर्न नसकेको अवस्थामा मधुमेह देखिन्छ ।
जब हाम्रो शरीरले कार्बोहाइड्रेड खानाहरू जस्तै रोटी, भात, आलु, चिनी र अरू गुलियो खानाहरू पचाउँदछ तब ग्लुकोज उत्पादन हुन्छ । कलेजाले पनि ग्लुकोज बनाउँछ । त्यसलाई रगतले सवै कोषहरूमा लैजान्छ । एउटा हार्मोन (जसलाई इन्सुलिन भनिन्छ) ले ग्लुकोजलाई कोषहरूमा पठाउन मद्दत गर्छ जहाँ शरीरले इन्धनको रूपमा प्रयोग गर्दछ । इन्सुलिन प्यानक्रियाजमा बन्दछ । प्यानक्रियाज भनेको एउटा ठूलो डल्लो पेट पछाडि रहन्छ ।
दुई किसिमको मधुमेह मध्य टाइप १ मधुमेह प्राय बच्चाहरू र प्रौढहरूमा विकास हुन्छ । यो भएमा इन्सुलिन उत्पादन हुँदैन ।
टाइप २ मधुमेह भए पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुँदैन अथवा कोषको इन्सुलिन प्रयोग गर्ने सामथ्र्य हराउँछ । मधुमेहको विकास ४० पछि धेरै हुने देखिन्छ तर आजभोलि कलिलै उमेरमा पनि धेरै मानिस मधुयेहबाट पीडित हुने क्रम जारी छ ।
मोटोपनले किन स्वास्थ्यमा जोखिम हुन्छ?
स्याउ जस्तो बनोटको शरीरले स्वास्थ्यमा धेरै असर पुर्याउने बिभिन्न अनुसन्धानले देखाएका छन् । मधुमेह अनि मुटुरोग जोखिमका लागि भुडीमा भएको बोसो नाप्न जरुरी छ । दुई प्रकारको भुडीमा हुने बोसो सब्कुटेनियस फ्याट र भिस्सेरियल फ्याटको तुलना हेर्न सकिन्छ ।
सब्कुटेनियस फ्याट छालाको ठिक मुनि हुने बोसो हो भने भिस्सेरियल फ्याट पेटको भित्री गहिराइमा हुने हो जहाँ शरीरका मुख्य अंग रहन्छन् । अनुसन्धानले यो निर्क्योल गरेको छ कि भित्रीगहिराइमा हुने भिस्सेरियल फ्याट बढी हानिकारक हुन्छ जसले मुटुरोग र मधुमेह हुने सम्भावना अधिक रहन्छ ।
मोटो वा अधिक मोटा मानिसको स्वास्थ्य जोखिम हरेक बर्ष बढ्दो छ । मेडिकल तथ्यले मोटो शरीरले धेरै जोखिम बोक्ने प्रष्ट पारेको छ । त्यसैले मधुमेह या मुटुरोगको जोखिम जाच्दा बिएमआइ हेर्नु भन्दा कत्तिको ठुलो भुडी छ, त्यही अनुरुप निर्क्योल गर्न सुझाव दिइएको छ ।
पहिला यो बिचार गरिन्थ्यो कि बोसो अलि निस्क्रिय हुन्छ । यो खालि शक्तिको भण्डार हो । तर हालैको अनुसन्धानले फ्याट सेलहरु जैविक रुपमा सक्रिय हुन्छन् भन्ने बताएको छ । यिनीहरु शरीरमा हुने हार्मोन र अरु केमिकलसंग आबद्द भएर शरीरका प्राय सबै अङ्गलाई असर गर्ने गर्छन् ।
जब हाम्रो तौल सामान्य रहन्छ, तब यी हार्मोन र केमिकलहरूले शरीर स्वस्थ्यकर राख्दछ । यिनीहरुले भोक नियन्त्रण, उर्जा बढाउने, इन्सुलिनको ब्यबस्था गरि मधुमेहबाट बचाउने जस्ता काम गर्छन् ।
जब हाम्रो वजन बढी हुन्छ, चाहिनेभन्दा बढी फ्याट सेलहरु शरीरमा हुन्छ र यी सेलहरु ठुलो हुन्छन् । यी ठुला सेलहरुले शरीरलाई चाहिने भन्दा बढी हार्मोन र केमिकल निकाल्छन् । पेट वरिपरी हुने भिसेरेल फ्याटले झन् धेरै निकाल्छ । यी चाहिनेभन्दा धेरै बढी केमिकलहरूले मुटुरोग, मधुमेह, पक्षघात ( स्ट्रोक), केही क्यान्सर लगायत स्वास्थ्यमा धेरै जोखिम बनाउंछ ।
पेटको बेसोमा हुने एक किसिमको अग्रगामी एंजियोटेनसिन प्रोटिन हो जसले रक्त कोषिकाहरुमा रगत ओहोरदोहोर गर्न व्यवधान पुर्याउदछ । सोही कारण रक्तचाप बढ्ने गर्छ । अर्को प्रोटिन जसलाई रेटिनो बाइन्डीङ ४ भनिन्छ जुन इन्सुलिन प्रतिरोध हुन्छ जसको कारणले आर्टरीहरु बन्द भइ हृदयाघात, स्ट्रोक हुने जोखिम बढ्छ ।
पेटको बेसोमा पाइने अरु प्रोटिनहरुले थोरै सुनिने गराउन सक्छ जसले मुटुरोग, मधुमेह र अरु रोगहरु जस्तै क्यान्सर हुने जोखिम हुन्छ ।
भिस्सेरल फ्याट क्यान्सरसंग पनि जोडिएको छ । महिनावारी सकिएपछि महिलाहरुको पाठेघरले एस्ट्रोजन हार्मोन बनाउन छोड्छ र फ्याट तन्तुहरु यो हार्मोनको मुख्य श्रोत बन्छ ।
जो महिला बढी मोटो हुन्छन्, उनीहरुको फ्याट तन्तुहरुले एस्ट्रोजन बाहिर निकाल्न व्यस्त हुन्छन् । यो बढी फ्याट हार्मोनाहरुले स्तन क्यान्सर हुने जोखिम पनि बढाउन सक्छन् । महिला पुरुष दुबैलाई धेरै ठुलो भुडी भएपछि कोलोरेक्टर क्यान्सर हुने सम्भावना पनि रहन्छ ।
धेरै भुडीमा हुने बोसोले दिमागलाई पनि असर गर्न सक्छ । सन् २००५ मा गरिएको वृध मानिसहरु माथिको अध्यनले ठुलो भुडी हुनेको स्मरण शक्ति र भाषामा ह्रास पाइएको छ । यसबाट डिमेन्सिया र आस्माको जोखिम बढाउंछ ।
मधुमेह जोखिम कसरी कम गर्ने ?
शरीरका अङ्गहरू जस्तै आँखा, मृगौला, पैतालाको नोक्सानलाई रोकथाम गर्न रगतको ग्लुकोज लेभल र रक्तचाप नियन्त्रण गर्न जरुरी छ । मधुमेहले कोरोनरी मुटुरोग लाग्ने सम्भावना धेरै बढाउंछ । मधुमेहको मुख्य जोखिमका तत्वहरूको राम्रो उपचार र जीवनशैली परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ । तल उल्लेखित कुरा मनन गरौं ।
• मोटोपन हटायौं, क्रियाशील बनौँ :
स्वस्थ्यकर वजन राख्नाले रक्तचाप कम हुने र मुटुलाई कम काम गर्ने बनाउंछ, यसले कोलेस्ट्रोल घटाउछ र मधुमेहको विकास हुने जोखिम कम गराउंछ । आफ्नो उचाई अनुरुपको वजन हुनुपर्दछ, भुडीवरीपरी ३४’ भन्दा कम भएमा जोखिम घट्न सक्छ ।
शारीरिक निस्कृयता मुटु रोग लाग्ने प्रमुख जोखिम हो र टाइप २ मधुमेह को विकास हुने पनि प्रमुख कारण हो । तपाईंलाई मधुमेह भइसकेको छ भने शारीरिक क्रियाशीलताले तपाईंले खाने औषधीको परिमाणलाई कम गर्न मद्दत गर्दछ । क्रियाशील हुँदा विस्तारै रफ्तार बढाएर लैजानु पर्दछ र हप्ताको घटीमा पाँच दिन आधी घण्टाको ठिक्कको व्यायाम गर्नुपर्दछ ।
मधुमेह भएको व्यक्तिले व्यायाम गर्दा जहिले पनि कार्वोहाइड्रेड जस्तै ग्लुकोज ट्यावलेट या चिनियुक्त पेय पदार्थ साथमा हुनुपर्दछ । किनभने यदि ग्लुकोज लेभल धेरै कम भयो भने खान / पिउन सकिन्छ । यदि तपाईंको वजन बढी छ र कम गर्नुभयो भने यसले रक्तचाप कम गर्न, कोलेस्ट्रोलको लेभल घटाउन र मधुमेह नियन्त्रण गर्न मद्दत गर्दछ ।
• थोरै तर राम्रोसँग खाउँ:
कस्तो र कति खाने भन्ने जानकारी हुन आवश्यक छ । राम्रो खानाले वर्तमान र भविष्यको स्वास्थ्यमा ठूलो असर पार्दछ । यसले आत्मघाती मुटुरोग र क्यान्सर जस्ता रोगहरूको जोखिमबाट बचाउन सक्छ । यसले वजन वढ्न पनि कम गर्दछ किनभने वजन धेरै बढीको मतलव मधुमेह, वाथ र उच्च रक्तचाप हुने सम्भावना बढ्छ । फलफूल, सागसब्जी र स्वास्थ्यकर खानपिनले मधुमेहको जोखिम कम गर्दछ । दिनको घटीमा ५ पोर्सन विभिन्न किसिमका फलफूल र सब्जी खानुपर्दछ ।
• धूमपान छोडौं:
धूमपानले विभिन्न किसिमका क्यान्सर, श्वासप्रश्वास, उच्च रक्तचाप र मुटुको रोगलाई निम्त्याउछ । धुम्रपान त्याग्नु नै स्वास्थ सुधार्नु हो । यसका लागि आफ्नो इच्छा शक्ति महत्वपूर्ण कुरा हो।
• कोलेस्ट्रल र ट्राइग्लिसराइड लेबल नियन्त्रण गरौं:
स्वस्थ्यकर खाना, त्यसमा पनि जनावरबाट पाइने चिल्लो कम खानुपर्दछ । मधुमेह भएको मान्छेलाई कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेबल बढी हुने गर्दछ । त्यसैले समयमा रगत जांच गराइ आफ्नो कोलेस्ट्रोल र ट्राइग्लिसराइडको नम्बर थाहा पाइरहनु पर्दछ र त्यहि अनरुप जीवनशैली बदल्नु पर्दछ ।
• उच्च रक्तचाप नियन्त्रण गरौं:
मधुमेह भएको मान्छेलाई प्राय उच्च रक्तचाप हुने गर्दछ । त्यसैले यसलाई नियन्त्रण गर्न जरुरी छ ।
• चिन्ता कम गरौं:
चिन्ता अहिले संसारमा मान्छेको स्वास्थ्यमा जोखिम बढाउने प्रमुख कारण हो । चिन्ताबाट न समस्याको समाधान प्राप्त हुन्छ न छुट्कारा नै । चिन्ताले गलत क्रियाकलापलाई पनि उक्साहट गर्न सक्छ । जस्तै टेन्सन भयो भनि धुम्रपान गर्नु । बोर लाग्यो भनि रक्सी पिउनु, अल्छी लाग्यो भनेर बढी सुत्नु आदिले पनि मधुमेह बढाउन महत्वपूर्ण सहयोग गर्छ । आराम गर्ने विभिन्न तरिका सिकेर चिन्ता टाढा राख्न सकिन्छ । यसले शरीरमा फूर्ति आउँछ ।
यदि तपाईंलाई मधुमेह छ भने वार्षिक रूपमा यसको पुनर्विचार गर्नुपर्दछ । किनभने यसले तपाईंको मधुमेह सम्बन्धी जटिलता विकास हुन नदिई कोरोनरी मुटुरोग नियन्त्रणलाई सहयोग पुर्याउँछ ।
(बेलायतवासी लेखक आचार्य ‘कोरोनरी मुटुरोग -२०११’ पुस्तकका लेखक हुन् । यस पुस्तकको दोस्रो संस्करण साझा प्रकाशनले बजारमा ल्याएको छ)