नेपाली समाज यूकेको अध्यक्षमा बसुन्धरा याक्खा राईले उम्मेदवारी दिने
लन्डन । जनता समाजवादी पार्टी नेपालनिकट नेपाली समाज यूकेकी वर्तमान सहअध्यक्ष बसुन्धरा याक्खा राईले आसन्न अधिवेशनमा अध्यक्ष पदमा उमद्धार दिने भएकी छन् ।
समाजको स्थापनादेखि नै सक्रिय रहेर दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालेकी उनी आगामी १३ फेब्रुअरीमा हुने चौथो अधिवेशनमा अध्यक्ष उम्मेदवार बन्ने भएकी हुन् ।
पार्टीभित्र निष्ठावान र इमान्दार छवि भएकी जुझारु नेतृको परिचय बनाएकी राईले अनेरास्ववियुको विद्यार्थी राजनीतिदेखि गृहणी, लाहुरेनी, राजनीति, समाजसेवासहितका विभिन्न ठाउँबाट आफ्नो दरिलो भूमिका निर्वाह गर्दै आएकी छन् ।
संखुवासभा, चैनपुर नगरपालिका ८ चापाभै बसुन्धराले २०४२ सालमा जिल्लाकै मादी माविबाट प्रवेशिका उत्तिर्ण गरिन् । त्यसपछि गोर्खा सैनिक खगेन्द्र याक्खा राईसंग विवाह गरी श्रीमानसंग हङकङ गएर नयाँ जीवन सुरु गरिन् । तीन वर्षको पल्टने जीवनपछि उनी उच्च शिक्षालाई निरन्तरता दिने क्रममा पध्मकन्या बहुमूखी क्याम्पस बागबजार काडमाडौँबाट विसं. २०५१ मा प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरिन्।
विगत पन्ध्र वर्षदेखि सपरिवार लण्डन ह्यारोमा बस्दै आएकी बसुन्धराले किरात याक्खा छुम्मा, गोरखा भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति महासंघ, गैर आवासीय नेपाली संघ यूकेलगायतका संघसंस्थामा विभिन्न जिम्मेवारीहरुका साथै संखुवासभा समाज यूकेको अध्यक्षका रुपमा पनि काम गरिसकेकी छन् ।
समाज परिवर्तनको मुद्धा बोकेर अघि बढेकी बसुन्धरा नेपाल तथा यूके दुवैतिर राजनीतिबाट अलग रहन सकिनन् । उनलाई राजनीतिमा लाग्न परिवारबाट पनि पूरै सहयोग छ । युवा अवस्थामा ०३६ को झापा आन्दोलनमा सहभागी भएर अनेरास्वावियुमा राजनीति सुरु गरी लामो समय कम्युनिस्ट आन्दोलनमा समर्पित उनी पार्टी सत्तामा पुगेपछि आदिवासी जनजाति, महिला, दलित र पिछाडिएकाहरुलाई बेवास्ता गरेको देखेपछि पछिल्लो समय पहिचानवादी आन्दोलनमा सशक्त भएर लागेकी बताउंछिन् ।
पार्टीको स्थापनादेखि नै पार्टीमा निरन्तर नैतिक, आर्थिक, भौतिक सहयोगमा बसुन्धराले महत्वपूर्ण योगदान गर्दै आएकी छन् ।वर्षमा एकपटक कार्यालय भाडादेखि पार्टीले गर्ने महत्वपूर्ण आन्दोलनका कार्यक्रमहरुमा आफ्नै संयोजनमा सफलतापूर्वक आर्थिक संकलनहरु भएका उनले जनाइन् । पार्टीको अनुसाशन विभागमा समेत उनले काम गरेकी छन् ।
स्थापना भएको दश वर्ष भएपनि पार्टीको समानुपातिक र समावेसी नीति अभ्यासमा नआएकोमा बसुन्धरा असुन्तुष्ट छन् । महिलाको नेतृत्वमा पार्टीलाई नमुना बनाउने उद्देश्यले उनले पार्टीको आसन्न चौंथो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
आफू निर्वाचित भए पार्टी समायोजनका बाँकी कठिन र चुनौतिपूर्ण कार्यलाई पूरा गर्नतर्फ लाग्ने उनको योजना छ । पार्टीको कार्यदिशाअनुसार समावेसी र समानुपातिक व्यवस्थाका साथै जातीय विभेद, पिछडिएका, महिला, अल्पसंख्यामा रहेकाहरु लगायतको पक्षमा सशक्त आवाज उठाउने उनको अठोट छ ।
संघीयताले शक्ति सन्तुलित बाँडफाँड गर्ने पार्टीको विचार विधानमा सिमित नराखि इमान्दारिताका साथ सरल, सहज तरिकाले यूकेदेखि आफ्नो मातृभूमि नेपालको
हिमाल, पहाड, तराई मधेश समेटेर राजनीतिक आर्थिक, सामाजिक सुधार र विकासको निमित्त नेपाली समाज यूकेले साझा आवजलाई बुलन्द पार्ने र सफल बनाउने दृढ संकल्प गरी अगाडि बढ्ने उनको प्रतिवद्धता छ ।
नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता बोकेको मुलुकको लागि पार्टीको नीति, दृष्टिकोण र राजनीतिक कार्यदिशालाई सफल बनाउन राजनीतिक जीवनमा प्राप्त गरेको आफ्नो लामो अनुभवलाई नेपाली समाज बेलायतको लागि सदुपयोग गर्ने उनको आकांक्षा छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५