नाइजेरियामा लुटेराको आक्रमणमा २०० को मृत्यु, हजारौँ विस्थापित
अबुजा, २५ पुस– लुटेराहरूको आक्रमणमा परी नाइजेरियामा मृत्यु भएकाको सङ्ख्या २०० भन्दा बढी पुगेको छ । हिंसात्मक घटनाका कारण अरू हजारौँ विस्थापित पनि भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
यसअघि शुक्रबार बन्दुकधारीहरूको आक्रमणमा परी कम्तीमा १४० भन्दा बढीको मृत्यु भएको दाबी गरिएको थियो ।
लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा निर्दोष नागरिकहरूको हत्या गरेको जनाइएको छ ।
स्थानीय एक नेताले लुटेराहरूको समूहले आम नागरिकमाथि हिंसात्मक आक्रमण गरेको बताएका छन् ।
आक्रमणकारीका सयौँ लडाकूहरू मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
उनीहरूले १० गाउँमा आक्रमण गरेका हुन् । आक्रमणकारीहरूले घरघरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको भनाइ छ ।
घटनापछि आइतबार पहिलो प्रतिक्रिया दिँदै मानवीयता मामिला मन्त्री सादीया उमर फारौकले घटना अत्यन्त दुःखद् र दर्दनाक भएको बताएका छन् ।
घटनाका कारण १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । “विस्थापित भएका व्यक्तिहरूका बारेमा पनि सरकारले सोचिरहेको छ, सक्दो सहयोग सरकारले गर्नेछ,” उनले भने ।
विस्थापित भएकाहरूलाई तत्काल आवश्यक पर्ने सामग्री र स्रोत साधनहरू पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।
नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आम नागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरूसँग सरकारी पक्षले संघर्ष गरिरहनु परेको छ ।
सरकारले उनीहरूलाई आतङ्वादी समूहको रूपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ । तर हिंसात्मक घटनाहरू भने निरन्तर भइरहेका छन् ।